Logo

एमाले माओवादी बाहेकको सरकार बन्ने यस्ता छन आधार


काठमाडौं । प्रतिनीधिसभा र प्रदेशसभाको अन्तिम मत परिणाम आउन लाग्न नयाँ सरकार निर्माणको बहस सुरु भएको छ । कुनै एउटा पार्टीको बहुमत नआएको अवस्थामा कसरी नयाँ सरकार बन्छ भन्ने बहसले राजनीति तातेको छ । एमाले र माओवादीका बीचमा बाम तालमेल भएर चुनावमा स्पष्ट बहुमत आएको भएपनि एमाले र माओवादीका बीचमा प्रधानमन्त्री को बन्ने भन्ने स्पष्ट नभएको अवस्थामा सरकार निर्माण हुने चार वटा आधार देखिएको छ ।

जुन आधार मध्ये पहिलो एमाले र माओवादीका बीचमा सहमति भएर सरकार बनेमा मात्र एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्नेछन् । यो सरकार बन्ने सवैभन्दा भरपर्दो विकल्प हो । एमाले माओवादी सरकार बन्दा एमाले प्रत्यक्ष तर्फ ८० सिट र समानुपातिक तर्फ झण्डै ४५ सिट हुन्छ । त्यसैगरि माओवादीको प्रत्यक्ष तर्फ ३६ र समानुपातिक तर्फ झण्डै २० सिट हुँदा स्पष्ट बहुमत हुन्छ । यसो भएमा एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्नेछन् । तर यसका लागि माओवादी अध्यक्षले एमाले र माओवादीका बीचमा एकता हुँदा एकिकृत पार्टीको पार्टी अध्यक्ष बन्ने ग्यारेण्टी खोज्नेछन् ।

त्यसैगरि सरकार बन्ने दोश्रो विकल्प भनेको नेपाली कांग्रेस, माओवादी र मधेशी दलका बीचमा सहमति भएर पनि सरकार बन्न सक्नेछ । जुन सरकार माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बन्नेछन् । यसरी बन्ने सरकारमा कांग्रेसको प्रत्यक्ष तर्फ २३ र समानुपातिक तर्फ कम्तिमा ४४ सिट अनि माओवादीको प्रत्यक्ष तर्फ ३६ र समानुपातिकमा २० सिट र मधेशी दल संघीय समाजवादी फोरम नेपाल र राजपाको प्रत्यक्ष र समानुपातिक जोडेर कम्तिमा २९ सिट पुग्ने देखिन्छ । यसो भएमा पनि सरकार बन्न सक्छ । यसो भएको अवस्थामा राष्ट्रपति वा सभामुख नेपाली कांग्रेसले पाउनेछ भने यी दुई मध्ये एक पद मधेशी दलहरुले पाउनेछन् ।

नयाँ सरकार बन्ने अर्को पनि विकल्प देखिन्छ । तर यो विकल्प भनेको अत्यन्तै न्यून देखिन्छ । त्यो सरकार भनेको एमाले र कांग्रेसको सरकार हो । यो सरकार भने दुई तिहाईको सरकार हुने देखिन्छ । यसो हुनका लागि नेकपा एमालेले प्रधानमन्त्री कांग्रेसलाई छोड्नुपर्ने हुन्छ ।

त्यस्तै सरकार बन्ने चौथो विकल्प भनेको एमाले मधेशी दलहरुको सरकार हो । यो विकल्प पनि भरपर्दो होइन् । यसो गर्दा एमाले प्रत्यक्ष तर्फ ८० सिट र समानुपातिक तर्फ झण्डै ४५ सिट र मधेशी दलहरुको २९ सिट हुन्छ । यसो हुँदा समेत बहुमतको सरकार बन्छ तर यसो भएको खण्डमा पनि एमालेले  प्रधानमन्त्री मधेशी दललाई दिनुपर्ने अवस्था देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्