Logo

सरकारको नेतृत्वको विषयमा एमालेमा नै मतान्तर


काठमाडौं । प्रतिनीधिसभा र प्रदेशसभा चुनावपछि ठुलो पार्टी बनेको नेकपा एमाले भित्र सरकारको नेतृत्व कस्ले गर्ने भन्ने बिषयमा मतान्तर देखिएको छ । उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्री बराबरी समय बाँडेर आलोपालो गर्ने सहमति भइसकेको खुलासा गरेका छन् । तर महासचिव इश्वर पोखरेलले भने पार्टी र सरकार दुवैको नेतृत्व केपी ओलीले गर्ने दाबि गरेका छन् । उपाध्यक्ष गौतमले शुक्रवार बीबीसी नेपाली सेवासँग कुरा गर्दै भने–‘प्रधानमन्त्री पद आलोपालो चलाउने भन्ने सहमति तालमेल अगाडी नै गरिसकेका हौं, तर घोषणासभामा त्यो कुरा सार्वजनिक गरिएको थिएन ।’

आलोपालो पद्दतीअनुसार कति–कति समय कसले प्रधानमन्त्री चलाउने भन्ने बिषयमा भने ठोस सहमति नभएको उनले बताए । ‘पाँच बर्ष एउटा नेताले, अर्को पाँच बर्ष अर्को नेताले पनि हुनसक्छ, यही कार्यकालमा पनि कसैले दुई बर्ष गर्ने र अर्को कसैले तीन बर्ष गर्ने पनि हुनसक्छ ।’ गौतमले भने–‘यसमा ठ्याक्कै मिति तोकिएको हैन् ।’ आलोपालोको सहमति केवल प्रधानमन्त्री पदका लागि भएको तर अध्यक्ष पदका लागि नभएको गौतमले बताए । पार्टी एकताको प्रकृया चुनावी तालमेलसँगै सुरु भएको बताउँदै उनले यो प्रकृया छिटै अगाडी बढने बताए । उनले भने–‘प्रधानमन्त्री आलोपालो चलाउने सहमति तालमेल अगाडी नै गरिसकेका हौं, तर घोषणासभामा त्यो कुरा सार्वजनिक गरिएको थिएन ।’

त्यसैगरि शुक्रवार नै राजधानीमा रिपोर्टस क्लबले आयोजना गरेको कार्यक्रममा महासचिव इश्वर पोखरेलले भने, ‘सरकार गठनको सन्दर्भमा एउटा प्रक्रियाबाट अघि बढ्छ, आफ्नो हैसियत अनुसार दाबी प्रस्तुत गर्छौं, दाबी प्रस्तुत गरिसकेपछि यसमा कुनै समस्या पर्छजस्तो मलाई लाग्दैन्, मुलुकमा राजनीतिक स्थायित्व कायम गर्नको लागि पनि बहुमतको सरकार चलाउनुपर्छ, जनताले अहिले त्यही जनमत हामीलाई दिएका छन् ।’ उनले अबको प्रधानमन्त्री र पार्टी अध्यक्ष केपी शर्मा ओली नै बन्ने पनि दाबी गरे । उनले भने, ‘अब बन्ने सरकारको नेतृत्व र पार्टीको पनि नेतृत्व ओलीले नै गर्नुहुन्छ, यसमा कुनै द्धिविधा छैन ।’ उनले निर्वाचनको परिणाम, राष्ट्रिय राजनीतिमा ओलीको खेलेको भूमिका र मुलुकको आवश्यक्तालाई हेर्दा पनि ओलीनै प्रधानमन्त्री हुनेमा विवाद नहुने तर्क पनि गरे । महासचिव पोखरेलले नयाँ सरकार जनताको चाहना र मुलुकको आवश्यक्ता अनुसार अघि बढने पनि बताए ।

उनले थपे, ‘म सँग यसका दुईवटा उत्तर छन्, म वाम गठबन्धनको एउटा ठूलो घटक नेकपा एमालेको महासचिव हुँ । मैले औपचारिक रुपमा भन्दाखेरि खासगरी मैले फलानो प्रधानमन्त्री भन्दाखेरि उचित हुँदैन, तर यस विचमा नेकपा माओवादी केन्द्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको प्रधानमन्त्री केपी शर्मा ओली भनेको कुरा म सम्झिरहेको छु, र उहाँको बोलाईप्रति मेरो भनाई के हो भने यो बुझ्ने कुरा हो, ओलीको भुमिका र प्रस्तुति र निर्वाचन परिणामले गर्दा अबको प्रधानमन्त्री केपी शर्मा ओली नै हो भन्ने कुरा अन्डरस्टुड कुरा हो, यो अन्डरस्टुड कुरा भएकोले निर्णय नभएसम्म मैले भन्न मिल्दैन ।’

प्रतिक्रिया दिनुहोस्