Logo

एमालेलाई नेता व्यवस्थापन गर्न समस्या


काठमाडौं । चुनावपछि सबैभन्दा ठूलो दल बनेको नेकपा एमालेमा अब प्रधानमन्त्री को बन्ने भन्ने विषयमा नेताहरूका बीचमा मतान्तर देखिएको छ । एमाले महासचिव ईश्वर पोखरेलले पार्टी अध्यक्ष र प्रधानमन्त्री केपी ओली नै बन्ने घोषणा गरिसकेका छन् भने वामदेव गौतम र माधव नेपालहरू ओली नै सबैथोक बन्न नसक्ने तर्क अगाडि सारेका छन् । प्रधानमन्त्री को बन्ने भन्ने विषयमा माधव नेपालले कुनै छलफल र सहमति नभएको सार्वजनिक अभिव्यक्ति दिएका छन् भने ईश्वर पोखरेलले सार्वजनिक रूपमा नै सबै केपी ओली हुने धारणा राखेका छन् । पोखरेलको धारणास“गै माओवादीमा समेत खैलाबैला मच्चिएको छ । त्यसैगरी अर्का नेता वामदेव गौतमले ओली र माओवादी अध्यक्ष पुुष्पकमल दाहालका बीचमा आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको धारणा सार्वजनिक गरेका छन् ।

एमाले नेताहरूको यो फरकफरक धारणाबाट पनि सरकार बनाउनका लागि एमाले र माओवादीका बीचमा रस्साकस्सी धेरै बा“की रहेको पुुष्टि हुन्छ । सरकारको नेतृत्वको विषयमा रस्साकस्सी चलेजस्तै एमालेभित्र नेताहरूलाई व्यवस्थापन गर्ने विषयमा पनि रस्साकस्सी सुरु भएको छ । केही नेताहरू प्रतिनिधिसभा छोडेर प्रदेशसभाबाट सांसद बने पनि सबैले प्रदेशको मख्यमन्त्री ताक्दा नेताहरूको व्यवस्थापनमा समस्या देखिएको छ । एक नम्बर प्रदेशको मुख्यमन्त्रीमा भीम आचार्य, शेरधन राई र राजेन्द्र राईले दाबी गरेका छन् । एमालेका यी तीनै नेता भावी मुख्यमन्त्री आफू भएको भन्दै भोट मागेका थिए ।

त्यसैगरी एमालेको बहुमत रहेको तीन नम्बर प्रदेशको मुख्यमन्त्रीमा पनि रस्साकस्सी सुरु भएको छ । तीन नम्बर प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे र पशुपति चौलागाईंले दाबी गरेका छन् । यी तीनै नेताले आफू मुख्यमन्त्री भन्दै भोट मागेका थिए । त्यस्तै चार नम्बर प्रदेशमा पनि मुख्यमन्त्रीका बीचमा रस्साकस्सी सुरु भएको छ । पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङका बीचमा पनि मुख्यमन्त्रीको रस्साकस्सी सुरु भएको छ । यी दुवै नेताहरूले पनि मुख्यमन्त्री भन्दै भोट मागेका थिए । प्रदेश नम्बर पा“चमा भने मुख्यमन्त्रीका रूपमा शंकर पोखरेल सशक्त देखिएका छन् । प्रदेश नम्बर ६ र ७ मा मुख्यमन्त्री माओवादीले दाबी गरेका कारण एमालेले नेता व्यवस्थापन गर्न समस्या देखिएको छ ।

प्रदेशमा मात्र नभएर केन्द्रमा पनि एमालेलाई नेताहरूको व्यवस्थापन गर्न समस्या देखिएको छ । केन्द्रमा जम्मा २५ जना मात्र मन्त्री बनाउन पाउने संवैधानिक व्यवस्था भएका कारण नेताहरूको व्यवस्थापनमा समस्या देखिएको छ । २५ जना मन्त्री केन्द्रमा बन्ने र त्यसको ४० प्रतिशत माओवादीलाई दिनुपर्ने भएकाले नेता व्यवस्थापनमा समस्या छ । केन्द्रमा धेरै केन्द्रीय नेताहरू चुनाव जितेर आएका र धेरै लामो समयदेखि अवसरबाट वञ्चित नेताहरूले यो पटक चुनाव जितेका कारण पनि समस्या परेको छ । महासचिव ईश्वर पोखरेल लामो समयदेखि सरकार बाहिर रहेका नेता हुन् । उनी २०५८ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी थिए । त्योभन्दा पछि बाबुराम नेतृत्वको सरकारमा केही दिन उपप्रधानमन्त्री बनेका थिए । त्योभन्दा पछि कुनै अवसर उनले पाएका छैनन् ।

त्यस्तै उपमहासचिव घनश्याम भुसालले यतिबेलासम्म कुनै अवसर पाएका छैनन् । सचिव योगेश भट्टराईले पहिलो पटक चुनाव जितेका छन् । सचिवहरू गोकर्ण विष्ट र प्रदीप ज्ञवाली पनि यो पटक संसद्मा आएका छन् । ऊर्जामन्त्री भएर राम्रो काम गरेका भनिएका विष्ट र लामो समय सरकारमा अवसर नपाएका ज्ञवालीलाई यो पटक व्यवस्थापन गर्नुपर्ने एमालेको बाध्यता छ । त्यसैगरी कास्कीका रवीन्द्र अधिकारी पनि यो पटक अवसर खोज्ने तयारीमा छन् । अर्को नेता भीम रावलले केही नपाउ“दा फेरि सुदूरपश्चिमको नारा लगाउने तयारीमा छन् । अर्कोतर्फ दुईतीन पटक चुनाव जितेका धेरै नेताहरूले पनि यो पटक अवसर खोज्ने भएकाले एमाले नेतृत्व समस्यामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्