Logo

समानुपातिकको सिट बाँडफँट एक सातामा


काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतगणना सकिएको छ । मतगणना सकिए पनि सिट बाँडफाँटका लागि भने अझै केही दिन लाग्ने निर्वाचन आयोगले जानकारी दिएको छ । जिल्लाबाट निर्वाचन क्षेत्रगत रुपमा अन्तिम परिणाम आएपछि मात्र आयोगले दलले पाउने सिटको बाँडफाँट गर्ने जानकारी दिएको छ ।

आयोगले आइतबार सार्वजनिक गरेको प्रारम्भिक मत अनुसार नेकपा एमाले समानुपातिकतर्फ पनि पहिलो दल बनेको छ । नेकपा एमालेले दोस्रोमा रहेको नेपाली कांग्रेसभन्दा ४६ हजार १०५ मत बढी पाएको छ ।

समानुपातिकतर्फको अन्तिम मतगणना अनुसार यस पटक राष्ट्रिय दलको मान्यता पाउने दलको सङ्ख्या पाँच मात्र हुने भएको छ । आयोगले औपचारिक रुपमा मतपरिणाम सार्वजनिक नगरे पनि सदर मतको तीन प्रतिशतको हिसाबले पाँच दलले मात्र राजनीतिक दल सम्बन्धी ऐनले ताकेको थ्रेसहोल्डको तीन प्रतिशत कटाएका छन् ।

आयोगले सार्वजनिक गरेको प्रारम्भिक सदर मत ९५ लाख ४४ हजार ७४४ रहेको छ । जसअनुसार थ्रेसहोल्ड तीन प्रतिशत कटाउन दुई लाख ८६ हजार ३४२ मत आवश्यक पर्नेछ । तीन प्रतिशत नकटाउने दलको मत गणना समानुपातिकतर्फ सिट बाँडफाँटका लागि गणना हुँदैन ।

निर्वाचन आयोगको समानुपातिक निर्वाचन एकाइ प्रमुख सहन्यायाधिवक्ता गीताप्रसाद तिम्सिनाले औपचारिक निर्वाचन परिणाम प्राप्त भइ नसकेकाले सिट बाँडफाँटमा केही दिन लाग्ने बताउनुभयो । तिम्सिनाले भने ‘हामीले सबै क्षेत्रबाट औपचारिक परिणाम मगाइ रहेका छौँ । सबै मतपरिणाम आएपछि रुजु गर्छौँ त्यसपछि कसले कति सिट पाउने हामी हिसाब निकाल्छौं।’

राष्ट्रिय दलको थ्रेसहोल्ड कटाउने दलमा एमाले, काँग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी नेपाल र सङ्घीय समाजवादी फोरम छन् । पहिलो पटक प्रतिनिधि सभा निर्वाचन लडेको विवेकशील साझा पार्टीले छैंठौं धेरै मत पाएको छ ।

दोस्रो संविधान सभामा समानुपातिक मतबाटै चौथो ठुलो दल बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रप्रपा) ले यस पटक राष्ट्रिय दलका लागि आवश्यक मतसमेत पाउन सकेन । राप्रपा सातौं स्थानमा सीमित भएको छ ।

समानुपातिकतर्फ पहिलो भएको एमालेको ३१ लाख ७४ हजार ४९४ मत छ । दोस्रोमा रहेको कँंग्रेसले ३१ लाख २८ हजार ३८९ मत पाएको छ । तेस्रोमा रहेको माओवादी केन्द्रको पहिलो र दोस्रो दलभन्दा आधा कम मत छ । गोरखापत्रमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्