चासोक तङ्नाममा स्थानीय बिदा

चासोक तङ्नाममा स्थानीय बिदा


ताप्लेजुङ ।

ताप्लेजुङको सदरमुकाम अवस्थित फुङ्लिङ नगरपालिकाले चासोक तङ्नाम (न्वागी पर्व) को बिदा दिएको छ ।

लिम्बू समुदायको सांस्कृतिक चाड चासोक तङ्नाम मनाउन फुङ्लिङ नगरपालिकाले बुधबार एक दिन स्थानीय बिदा दिएको हो ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश पौडेलद्वारा आइतबार प्रकाशित सूचनाअनुसार चासोक तङ्नामको अवसरमा फुङ्लिङमा प्रथम कञ्चनजङ्घा सेसेलुङ गोल्डकप फुटबल प्रतियोगिता लगायतका कार्यक्रम आयोजना गरिएकाले स्थानीय बिदा दिएको उल्लेख गरिएको छ ।

स्थानीय सार्वजनिक बिदाका दिन फुङ्लिङ नगरपालिका, वडा कार्यालयहरुसहित नगरभित्रका स्वास्थ्य संस्था, विद्यालय र अन्य सङ्घरसंस्था बन्द हुनेछन् ।

बुधबार नगरपालिकाले स्थानीय बिदा दिएसँगै अब फुङ्लिङ नगरपालिकामा तीन दिन लगातार सार्वजनिक बिदा हुने भएको छ । सोमबार क्रिसमस डे र मङ्गलबार उँधौली पर्व (चासोक तङ्नाम) को राष्ट्रिय अर्थात् सार्वजनिक बिदा हो ।

यता चासोक तङ्नामको अवसरमा चासोक तङ्नाम सञ्चालन समितिको आयोजनामा सदरमुकाम फुङ्लिङमा गत बुधबारदेखि अन्तर जिल्लास्तरीय कञ्चनजङ्घा सेसेलुङ गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन हुँदै आएको छ ।

फुटबल प्रतियोगिताका साथै लिम्बू संस्कृतिमा आधारित धाननाच ९याःलाङ०, च्याब्रुङ नाच (केःलाङ) सहितका प्रतियोगितात्मक कार्यक्रमहरु आयोजना गरिएको पनि समितिका संयोजक चन्द्रकुमार थेबेले जानकारी दिएका छन् ।