Logo

कांग्रेस केन्द्रीय समिति र महासमिति टार्न सातै प्रदेशमा भेलाको तयारी

सभापति देउवा निकट भातृ तथा शुभेच्छुक संस्थाका प्रमुखहरुको भेला


काठमाडौं । प्रदेश र प्रतिनीधिसभा चुनावमा नेपाली कांग्रेस कमजोर देखिएपछि तत्काल केन्द्रीय समिति र महासमितिको बैठक बोलाएर छलफल गर्नुपर्ने माग उठिरहेका बेलामा भातृ तथा शुभेच्छुक संस्थाका प्रमुखहरुको भेलाका नाममा सभापति शेरबहादुर देउवा निकटहरुले भेला गरे चुनावी समिक्षाका लागि सातै प्रदेशमा भेला गर्ने निर्णय गरेका छन् । उनीहरुको यो सातै प्रदेशमा चुनावी समिक्षाका लागि गर्ने भेलालाई नेपाली कांग्रेस भित्र केन्द्रीय समिति र महासमितिको बैठक टार्ने प्रपञ्चका रुपमा लिइएको छ ।

पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाको बुधबार बानेश्वरमा बसेको बैठकले पार्टीको पक्षमा सोचेजस्तो मत परिणाम नआएको भन्दै यसका बारेमा पार्टीभित्र गम्भीर छलफल गर्नुपर्ने निष्कर्ष निकालेको बताइएको छ । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले पार्टी पराजयबारे वडा समितिबाटै बहस चलाउनु आवश्यक रहेको बताए । चुनाव अगाडि सम्म नेपाली कांग्रेसका भ्रातृ संस्थाहरु नेपाल बिद्यार्थी संघ, नेपाल महिला संघ तथा नेपाल तरुण दलले पार्टी जिताउनका लागि कुनै अभियान संचालन गरेका थिएनन् ।

नेपाल महिला संघका अध्यक्ष उमा रेग्मीले पार्टीले निर्वाचनमा ल्याएको नतिजाबारे महासमितिको बैठक बोलाएर छलफल हुनुपर्ने बताइन् । नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले पार्टीलाई बलियो बनाउन संगठनलाई नयाँ ढंगले अगाडि बढाउन आवश्यक रहेको बताए । बैठकले सरकारले राष्ट्रपतिसमक्ष बुझाएको अध्यादेश यथाशीघ्र प्रमाणीकरण गर्न राष्ट्रपतिलाई आग्रहसमेत गरेको छ । बैठकमा नेपाली कांग्रेसका विभिन्न भ्रातृ संस्थाका अध्यक्ष तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्