पाइलट बिनै कार्गो विमान उड्यो

पाइलट बिनै कार्गो विमान उड्यो


क्यालिफोनिर्या ।

विश्वमा सबैभन्दा धेरै प्रयोग हुने एउटा कार्गो विमानले कोही चालक नहुँदा पनि सारा उडान सफलतापूर्वक पूरा गरेको छ ।

कूल १२ मिनेटको सो उडानमा विमान उत्तरी क्यालिफोनिर्याको होलिष्टर एयरपोर्टबाट छुटेको थियो । विमानलाई रिलायबल रोबोटिक्सले चलाएको थियो ।

कम्पनीले सन् २०१९ देखि नै अर्ध–स्वचालित उडान प्रणालीमा काम गरिरहेको थियो । यसमार्फत पाइलटले टाढै बसेर विमानलाई चलाइरहेका थिए । नोभेम्बरमा ५० मिनेटको एउटा फ्लाइट पूरा गरेको कम्पनीले हालै घोषणा गरेको थियो ।

विमानको नाम सेस्सेना काराभ्यान थियो । सिंगल इञ्जिन भएको यो विमान उडान तालिम, पर्यटन, मानवीय मिसन र क्षेत्रीय स्तरमा कार्गो सेवाका लागि बढी चर्चित छ ।

सेस्सेनाले ३ हजार थान क्याराभ्यान बनाइसकेको छ । यो कार्गोका लागि सबैभन्दा बढी प्रयोगमा आएको विमान भएको रिलायबल रोबोटिक्सका सीईओ रोबर्ट रोजले बताए ।

यो विमान अहिलेका ठुला विमानको तुलनामा कम उचाइ अनि प्रतिकूल मौसममा उड्छ । त्यसैले यी विमानहरू चलाउन चुनौतीपूर्ण भएको अनि यिनीहरूको सञ्चालन सुरक्षामा सुधार ल्याउन स्वचालनले निकै लामो दूरी तय गर्नु पर्ने रोजले बताए ।