प्रदेश राजधानी यसै साता तोक्ने सरकारको तयारी
प्रकाशित मिति : 23 December, 2017

काठमाडौं । सरकारले एक हप्ताभित्र प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुख तोक्ने तयारी गरेको छ । निर्वाचन आयोगले प्रदेशसभातर्फ समानुपातिक प्रणालीको मतपरिणाम सार्बजनिक गरेसँगै सरकारले प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुख तोक्ने तयारी गरेको हो ।
स्रोतका अनुसार प्रदेशको अस्थायी राजधानीको टुंगो लगाउने र प्रदेश प्रमुख नियुक्ति एकैसाथ हुने तयारी भइरहेको छ । दलहरुले नाम पठाएपछि आयोगले सिटका आधारमा विजयी उम्मेदवारको घोषणा गर्नेछ । यस्तो प्रतिवेदन सात दिनभित्र प्रदेशसभालाई बुझाउनुपर्ने व्यवस्था छ ।
यसैले पनि सरकारलाई एक हप्ताभित्र प्रदेश राजधानी र प्रमुख टुंगो लगाउनुपर्ने दबाब बढेको हो । कुन प्रदेशको अस्थायी राजधानी कहाँ तोक्ने भन्नेबारे मोटामोटी टुंगो लागिसकेको र अब मन्त्रिपरिषदले निर्णय गर्ने प्रधानमन्त्रीका प्रेस संयोजक गोबिन्द परियारले जानकारी दिएका छन् ।
सरकारले राजनीतिक पृष्ठभूमि नभएका विषय विज्ञ तथा पूर्व प्रशाशकलाई प्रदेश प्रमुख नियुक्त गर्ने तयारी गरेको स्रोतको भनाई छ ।