विश्वको सातौँ ठूलो सेयर बजार बन्यो भारत

विश्वको सातौँ ठूलो सेयर बजार बन्यो भारत


नयाँ दिल्ली ।

नोभेम्बरको अन्त्यमा भारतीय एक्सचेञ्जहरूमा सूचिकृत कम्पनीहरूको बजार पुँजीकरण करिब ४० खर्ब डलर नाघेको रिफिनिटिभको तथ्यांकले देखाएको छ ।

नेशनल स्टक एक्सचेञ्ज (एनएसई) भारतको सबैभन्दा ठूलो स्टक एक्सचेञ्ज हो ।

पहिला बम्बे स्टक एक्सचेञ्ज भनेर चिनिने बीएसई एशियाको सबैभन्दा पुरानो शेयर परिसूचक हो । दैनिक कारोबारका आधारमा बीएसई भन्दा एनएसई ठूलो छ ।

हङकङ एक्सचेञ्ज एन्ड क्लियरिङ लिमिटेडलाई उछिनेर एनएसई विश्वको सातौँ सबैभन्दा ठूलो शेयर एक्सचेञ्ज बनेको वल्र्ड फेडरेशन अफ एक्सचेञ्जेजको तथ्यांकले देखाएको थियो । तथ्यांकअनुसार नोभेम्बर २३ मा हङकङ एक्सचेञ्जको आकार ३९ खर्ब ८० अर्ब डलर थियो भने एनएसईको आकार ३९ खर्ब ९० अर्ब डलर थियो । यो वर्षको अहिलेसम्मको अवधिमा भारतको बेञ्चमार्क शेयर परिसूचक सेन्सेक्स १६ प्रतिशतले बढेको छ ।

निफ्टी ५० परिसूचक पनि सोही अवधिमा १७ प्रतिशतले बढ्यो । यो वर्ष भारतमा प्राथमिक शेयर निष्कासनमा व्यापक वृद्धि देखियो । सन् २०२३ को पहिलो ९ महिनामा भारतमा १५० ओटा आइपीओ जारी भए । हङकङमा यो संख्या ४२ मात्रै थियो ।

भारतको सेयर बजारको आकारमा भइरहेको वृद्धि त्यहाँको अर्थतन्त्रको मजबूति र तीव्र गतिमा बढिरहेको विश्वको मुख्य अर्थतन्त्रको झलक भएको विश्लेषकहरू बताउँछन् । यो वर्ष भारतीय अर्थतन्त्र ६ दशमलव ३ प्रतिशतले बढ्ने बहुपक्षीय कर्जादाता निकाय अन्तर्राष्ट्रिय मुद्रा कोषको अनुमान छ । तर केही अर्थशास्त्रीहरूले भने वृद्धिको दर ७ प्रतिशतसम्म पुग्न सक्ने बताइरहेका छन् ।

सेप्टेम्बर ३० मा सकिएको त्रैमासमा भारतको अर्थतन्त्र ७ दशमलव ६ प्रतिशत बढेको थियो । पछिल्लो समय भारतीय शेयर बजारप्रति विदेशी लगानीकर्ताहरूको रुचि पनि बढिरहेको छ ।