Logo

एमालेबाट समानुपातिक सांसद : श्रीमति जतिलाई गज्जब, आइतेहरुको हरिविजोग


काठमाडौं । प्रदेश र प्रतिनिधिसभामा पहिलो दल बनेको नेकपा एमालेलाई समानुपातिकतर्फको नाम टुंगो लगाउन महाभारत भएको छ । राष्ट्रियसभाको निर्वाचनपूर्व समानुपातिकतर्फको नाम टुंगो लगाउन लागि परेको एमालेमा आइतेहरूले समस्या खडा गरेपछि निर्वाचन आयोगमा अन्तिम नाम पठाउन समस्या भएको हो । समानुपातिकमा दुईजना पुरुष र अरू महिलाको मात्रै नाम पठाउनुपर्ने बाध्यकारी अवस्थामा रहेको एमालेमा पहिले राष्ट्रियसभाको निर्वाचन गर्नुपर्ने दवाब बढेको छ ।

आफ्नो पार्टी छाडेर एमालेको सूर्य चिन्हमा समानुपातिकमा बसेका परिवार दलका अध्यक्ष एकनाथ ढकाल, चुरेभावरका बद्री नेउपाने, मालेका अइन्द्रसुन्दर नेम्बाङले पहिले राष्ट्रियसभाको निर्वाचन गर्न दवाब दिएका छन् । समानुपातिक सूचीमा रहेका यी तीनै जना नपर्ने भएपछि उनीहरूले तीन जना महिलालाई राष्ट्रियसभामा पठाएर आफूहरूलाई समानुपातिकमा राख्नुपर्ने दवाब एमाले शीर्ष नेताहरूलाई दिएका छन् । थरुहट हुँदै नयाँ शक्ति र नयाँ शक्तिवाट एमाले छिरेर समानुपातिकमा परेकी गंगा चौधरीलाई सांसद बनाउने पक्का जस्तै भएपछि तीन जना पुरुषले यसको विरोध गरेका छन् ।

परिवार दलका अध्यक्ष एकनाथ ढकालले एमालेलाई आर्थिक लाभको आश्वासनसमेत दिएको बताइएको छ । एमालेले खस आर्य समूहबाट स्थायी समिति सदस्य मुकुन्द न्यौपाने र पिछडिएको क्षेत्रबाट मोहन बानियाँलाई समानुपातिकबाट सांसद बनाउने निश्चित गरिसकेको छ । समानुपातिकभन्दा पहिले राष्ट्रियसभाको निर्वाचन भए समानुपातिक सूचीमा रहेका तीन जना महिलालाई राष्ट्रियसभामा पठाएर भए पनि समानुपातिकमा बस्ने उनीहरूको चाहना छ ।

राष्ट्रियसभाको निर्वाचनपछि मात्रै प्रतिनिधिसभातर्फको समानुपातिकको नतिजा सार्वजनिक गर्ने कि नगर्ने भन्ने दलहरूबीचमा विवाद भइरहेका बेला तीन नेताहरूले आफू जसरी पनि सांसद बन्ने चाहना राखेका हुन् । एमालेले समानुपातिकतर्फ ४१ सिट पाएको छ । एमालेले महिला प्रतिनिधित्व पुर्‍याउन पनि ३९ जना महिलालाई समानुपातिकबाट सांसद बनाउनु पर्नेछ । अहिलेसम्म खस आर्य महिलामा राधा ज्ञवाली, बिन्दा पाण्डे, गोमा देवकोटा, कल्याणी खड्का, नीरुदेवी पाल, मनकुमारी जीसी, मायादेवी न्यौपाने, विष्णु शर्मा, सरिता न्यौपाने, मैनाकुमारी भण्डारी, तीर्था गौतम र शर्मिला कार्कीको नाम अगाडि आएको छ । जनजातिबाट ११ जना महिलालाई एमालेले सांसद बनाउनुपर्नेछ ।

समानुपातिकमा धेरैजसो नेताका श्रीमती परेकाले पनि एमालेलाई नाम टुंगो लगाउन हम्मेहम्मे परेको छ । देशलाई समाजवादी बाटोमा लैजाने भन्दै दुई कम्युनिस्ट पार्टी मिलेर बनेको वामपन्थी गठबन्धनमा भित्रभित्रै विरोधसमेत सुरु भएको छ । ऊर्जा मन्त्री हुँदा विवादमा आएकी राधा ज्ञवालीका विषयमा पनि अन्य महिलाले प्रश्न उठाएका छन् ।

बिन्दा पाण्डे, शिवमाया तुम्बाहाम्फे, शान्ता चौधरी र रघुवीर महासेठकी श्रीमती जुली महतो पनि यसपटक समानुपातिक सूचीमा परेका छन् । बर्दिया १ वाट पराजित उपाध्यक्ष वामदेव गौतमकी श्रीमती तुलसी थापा जनजाति महिला कोटामा समानुपातिक उम्मेदवार रहेकी छन् । उनको पनि पार्टीभित्रैवाट असन्तुष्टि आएको छ । प्रदेश नम्बर ५ को मुख्यमन्त्रीका दाबेदार शंकर पोख्रेलकी श्रीमती सुजिता शाक्य पनि केन्द्रको लागि समानुपातिकमा छिन् । काठमाडौ क्षेत्र नं ९ बाट निर्वाचित कृष्णगोपाल श्रेष्ठकी श्रीमती बिना श्रेष्ठ पनि समानुपातिकमा छिन् ।

पूर्वसभामुख सुवास नेम्बाङकी बहिनी विजया सुब्बा समानुपातिकमा छिन् । नेताहरूले आफ्नालाई समानुपातिक सूचीमा राखेर अरूलाई अवसर नदिएको भन्दै पार्टीमा विरोध भएपछि एमाले नाम छान्ने सकसमा परेको हो । आन्तरिक रूपमै विवाद भएको अवस्थामा आफ्नो पार्टी छाडेर व्यक्तिगत स्वार्थपूर्तिका लागि आएकाहरूबाट समेत दवाब आएपछि एमाले पहिले समानुपातिक कि राष्ट्रियसभाको निर्वाचन भन्ने दोधारमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्