महिला लिएर होटल गएका पुरुषको मृत्यु

महिला लिएर होटल गएका पुरुषको मृत्यु


सिरहा ।

सिरहाको मिर्चैयास्थित एक होटलमा गएको केहीबेरमै एक पुरुषको मृत्यु भएको छ ।

मिर्चैयाको कटारिचौकमा रहेको ओखलढुङ्गे गिरी होटलमा बुधबार मध्यान्ह १२ बजेतिर एक महिलासहित गएका कल्याणपुर नगरपालिका २ का करिब ४० वर्षीय मुकेशप्रसाद कर्णको मृत्यु भएको हो ।

महिलासहित उनी होटलमा बास बस्ने गरी आएर कोठा लिएका थिए । तर, कोठामा गएको १० मिनट पनि नबित्दै महिला ‘मेरो राजालाई के भयो’ भन्दै तल झरेको होटेलका सञ्चालक विजय यादवले बताए । उनले भने, ‘महिला रोइकराई गर्दै आएलगतै हामी सबैजना गएर उनलाई हेर्दा बेहोस अवस्थामा थिए । तत्काल नजिकैको स्वास्थ्य संस्थामा पुर्‍यायौँ । तर, स्वास्थ्यकर्मीले मृत घोषित गरे ।’

जानकारी पाउन साथ पुगेका प्रहरीले महिलालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी जितेन्द्र बस्नेतले बताए । उनले मृतकको मुख बाङ्गो भएको छ ।

त्यो देख्दा उच्च रक्त चापले हानेको हो कि भन्ने प्रारम्भिक अनुमान गरिए पनि पोष्टमार्टमपछिमात्र मृत्युको कारण खुल्ने बताए ।
अहिले शव स्थानीय स्वस्थ्य संस्थामा राखिएको छ । घर परिवारलाई खबर गरिएको बताँउदै डीएसपी बस्नेतले भने, ‘अहिले शव स्वास्थ्य संस्थामै छ । घरपरिवाका व्यक्तिहरु आएपछि आवश्यक प्रक्रिया पूरा गरी पोष्टमार्टमको लागि पठाउँछौं ।’