Logo

ठमेलमा पौडेल पक्षका कांग्रेस जिल्ला सभापतिको भेला

पार्टीलाई पुर्नजिवन दिनुपर्नेमा जोड


काठमाडौं । कांग्रेस नेता रामचन्द्र पौडेलले पार्टीमा अनपेक्षित पराजय व्यहोरेपछि यसको समीक्षा गर्न आफू पक्षधर जिल्ला सभापतिको भेला गरेका छन् । सोमबार राति ठमेलको मस्याङ्दी होटेलमा पौडेलले आफ्नो पक्षका १८–१९ जना जिल्ला सभापतिको भेला गर्दै चुनावी समीक्षा गरेका हुन् ।

प्रकाशमान सिंहसहितका नेता र जिल्ला सभापति सहभागी रातिको खानासहितको छलफलमा पौडेलले पार्टी नेतृत्वका कारण प्रदेश सभा र प्रतिनिधिसभामा नमिठो हार व्यहोर्नुपरेको बताएका थिए ।‘हामीले राष्ट्रिय मुद्दालाई सम्बोधन गर्नेदेखि टिकट वितरण पनि समानुपातिक रूपमा गर्न सकेनौंँ, यसमा नेतृत्व चुकेको छ,’ पौडेलको भनाइ उद्धृत गर्दै सहभागी एक जिल्ला सभापतिले भने, ‘अब यसरी नै सधैँ पार्टी चल्दैन । पार्टीले किन र कसरी हार्यो सत्यतथ्य पत्ता लगाएर भोलिका दिनमा हिजोको जस्तै पार्टीको साख ल्याउनुपर्छ ।’

अधिकांश जिल्ला सभापतिहरुले पार्टीलाई पुर्नजिवन दिनका लागि समानुपातिक तर्फका सांसदहरुको चयन गर्दा बिषेश ध्यान दिनुपर्ने सुझाव दिएका थिए । भेलामा काठमाडौं सभापति सबुज बानियाँ, धादिङ सभापति रमेश धमला, इलाम सभापति हिमालय कर्माचार्य, बर्दिया सभापति सञ्जय गौतम, मुगु सभापति खड्गबहादुर शाही, रोल्पा सभापति अमरसिंह पुन, कपिलबस्तु सभापति सुरेन्द्र आचार्य, चचितवन सभापति जीतनारायण श्रेष्ठसहित सहभागी थिए ।

जिल्ला सभापतिहरूले पनि पार्टीले टिकट नमिलाउँदा जित्ने ठाउँमा पनि पराजय व्यहोरेको बताएका थिए । टिकट दिँदा सभापतिले आफू पक्षका धेरैलाई दिएको भन्दै हारको कारण अन्तर्घात पनि भएको उनीहरूको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्