फ्रान्सेली नयाँ राजदूत राजधानीमा
विकास टाइम्स
प्रकाशित मिति : 17 September, 2021


फ्रान्सले वरिष्ठ परराष्ट्र मामिला सल्लाहकार जिल बुरबाओलाई नेपालको राजदूतमा नियुक्त गरेको छ । कार्यभार सम्हाल्न राजदूत बुरबाओ आज यहाँ आइपुग्नुभयो ।
राजदूत बुरबाओलाई परराष्ट्र मन्त्रालयका शिष्टाचार अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो । नेपालमा तीन वर्ष तीन दिनको कार्यकाल पूरा गरी बिहीबार राति फ्रान्सेली राजदूत फस्वा जेभे लेजे स्वदेश फर्कनुभएको हो ।
प्रस्थान गर्नुअघि राससलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै उहाँले नेपालमा आफ्ना तीन वर्षे कार्यावधि अति व्यस्ततामा बिते पनि पारस्परिक सम्बन्धलाई सबल तुल्याउन फलदायी भएको बताउनुभयो । न्यायो आतिथ्य र सहयोगका निम्ति नेपाल तथा सबै तह र तप्काका नेपालीप्रति आभार प्रकट गर्दै उहाँले पर्यटकका रूपमा पुनः नेपाल भ्रमण गर्ने बताउनुभयो । “नेपालको प्राकृतिक सौन्दर्यलाई अझ नजिकबाट नियाल्न नागरिकका रूपमा फेरि नेपाल आउनेछु”, उहाँले भन्नुभयो ।
राष्ट्रपति इम्यानुएल म्याक्रोले यही भदौ ९ गते परराष्ट्र सल्लाहकार बुरबाओलाई नेपालको राजदूतमा नियुक्त गर्नुभएको हो ।
–रासस

