Logo

माधव नेपाल त्याग्ने नेताहरू ओलीलाई छोड्ने अन्तिम तयारीमा


काठमाडौ । औपचारिक फुटको संघारमा रहेको एमाले एकतालाई बचाउने अन्तिम प्रयासका रूपमा अघि सारिएको १० बुँदे सहमतिको कार्यान्वयन गर्ने भन्दै अन्तिम समयमा माधव नेपाल समूह त्यागेका नेताहरु बिचल्लीमा परेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमतिको भावनाअनुसार एमालेलाई २ जेठ ७५ मै फर्काउनुपर्ने माधव नेपाल समूहबाट छुट्टिएका नेताहरूले अडान लिए पनि संस्थापन पक्षले यो सहमति नेकपा माओवादी केन्द्र त्यागी एमाले प्रवेश गरेका नेताहरूको हकमा लागू नहुने अडान राखेको छ।

यसबाट ओलीको विरोधमा उभिएका तर अन्तिम समयमा नेपाल समूह त्यागेका नेतामा असन्तुष्टि चुलिएको छ। त्यसैका कारण उनीहरूले पार्टी फुटाउने या नेपाल नेतृत्वको नयाँ पार्टीमा फर्कने मनस्थिति बनाएको बुझिएको छ । ओली पक्षले एमालेलाई २ जेठ मा फर्काउन नसक्ने स्पष्ट पार्दै एमालेलाई सग्लो एमालेको रूपमा बुझियो भने गलत हुन्छ। यो एकतापछिको एमाले हो। त्यसैअनुसार अघि बढ्नुपर्छ भन्ने अडान राखेपछि बिवाद सुरु भएको हो । उता १० बुँदे सहमति कार्यान्वयन विवादको सुरुवात सुदूरपश्चिमबाट भएको हो। एमाले उपाध्यक्ष भीम रावललाई सुदूरपश्चिम एन्चार्ज दिने, नदिने भन्नेबाट विवाद उत्पन्न भएको थियो।

एमाले राजनीतिक रूपमा विभाजित भएका बेला लेखराज भट्टलाई ओलीले सुदूरपश्चिम इन्चार्ज बनेका थिए।अहिले रावल र भट्ट दुवै ओली नेतृत्वको एमाले छन्। तर, त्यो बेला ओलीले माओवादी त्यागेर एमाले प्रवेश गरेका लेखराज भट्टलाई एमालेका तर्फबाट रावलको प्रतिद्वन्द्वीका रूपमा अर्थात् सुदूरपश्चिम इन्चार्जको जिम्मेवारी दिएका थिए। हाल आएर आफूलाई सुदूरपश्चिमको इन्चार्ज बनाउनुपर्ने रावलको अडानलाई बेवास्ता गर्दै ओलीले भट्टको हैसियत यथावत् रहेको घोषणा गरेपछि रावल निरास भए।

प्रतिक्रिया दिनुहोस्