Logo

पुर्वमन्त्री कृपासुरविरुद्धको मुद्दामा छोरा गणेशको बिजयी



काठमाडौं । पूर्वमन्त्री तथा नेकपा एमालेका नेता कृपासुर शेर्पाबाट उनका छोरा गणेश शेर्पाले अंश पाउने भएका छन् । लामो समयसम्म नागरिकतासमेतबाट वञ्चित भएका कृपासुरका छोरा गणेशले पाँच वर्षअघि नागरिकता पाएका थिए । नागरिकता प्राप्त गरेपछि अंशका लागि गणेशरले दायर गरेको अंश मुद्दामा काठमाडौं जिल्ला अदालतले तीन महिनाअघि गणेशको पक्षमा फैसला गरेको छ ।

कृपासुरको सम्पत्तिका सात अंशियारमध्ये एक गणेशलाई कुल सम्पत्ति २१ करोडको सात भागको एक भाग पाउने अदालतको फैसलामा उल्लेख छ । यहि प्रकृतिको फैसला ७४ चैत २ गते पनि जिल्ला अदालत काठमाडौंले नै गरेको थियो । जिल्लाको फैसलालाई पाटन उच्च अदालतले पनि ७५ साउन १५ मा सदर गरेको थियो ।

त्यो बेला कृपासुर शेर्पाले १ करोड ६५ लाख नगद र काठमाडौं जम्मुडाँडामा २ रोपनी जमिन दिएर अंश मामिला सल्झाउने आश्वासन दिएका थिए । अदालतको फैसला कार्यान्वयनका क्रममा कृपासुरले गणेशलाई ‘यति धेरै रकम लेनदेन गर्दा बढी कर लाग्ने भएकोले १० लाखको चेकबाट औपचारिक कारोबार गर्ने र बाँकी आपसी सहमतिमा लेनदेन गर्ने’ भनेर मनाएका थिए ।

गणेशले पनि बाबुको कुरा पत्याएर १० लाख पाउने कुरामा विश्वास गरे र १० लाख रुपैयाँ लिएको र बाँकी सबै अंश सम्बन्धी विवाद नरहेको र अब आफूले कुनै पनि प्रकारको दावी नगर्ने भनेर कागज गरिदिए ।

तर कृपासुरले गणेशलाई त्यो १० लाखको चेक पनि दिएनन् । छोरालाई चेक दिन बोलाएर आफैंले त्यातिदिए । त्यसपछि भने – अंश लिइसकेको भनेर कागज गरिसकिस् । अब सम्पत्ति जति सबै मेरो भयो । जहाँ जानु छ जा ।’

आफ्नै बाबुबाट धोका भएपछि गणेशले फेरि अर्को मुद्दा दायर गरे । मुद्दा दायर गर्दा उनले बाबुबाट अंशमा धोका भएको, अदालतले भराई दिएको अंश पनि नपाएको भन्ने दावी गरे । अदालतमा बहस हुँदा ‘गणेशले अंश छाड्नुको कुनै स्पष्ट कारण देखिएन । कागजमा त गणेशले १० लाख लिएर बाँकी सबै अंश छाडेको भनेर कागज गरेका थिए । तर अंश परित्याग गर्ने अवस्था र नियमअनुसार त्यो गलत मनसायले बनाएको देखियो ।’

त्यति मात्रै होइन, गणेशले जुन अंश परित्याग गरेँ भनेर कागज गरेका थिए, त्यो अंशमा गणेशको मात्रै हक लाग्दैन थियो । उनकी पत्नी र दुई नाबालक छोराछोरीको पनि हक लाग्ने अवस्था थियो । पत्नी र छोराछोरीको हक लाग्ने सम्पत्तिमा गणेश एक्लैले हक त्यागेको कुरा अदालतले पत्याएन ।

गणेशलाई कृपासुरले झुक्याएर १० लाखमा अंश दावी मेटाउन खोजेको देखिएपछि गणेशकी पत्नी सुजाता भित्रीकोटीले कृपासुर र गणेशलाई विपक्षी बनाइ अर्को मुद्दा काठमाडौं जिल्ला अदालतमा दायर गरिन् ।

१० लाख रुपैयाँमा अंशसम्बन्धी मामिला घरसारमै भइसकेको र बाँकी काम तामेलीमा राखिपाउँ भन्ने निवेदन गणेशले दिए । अनि घरसारमै अंश पाएको भन्ने विषय कृपासुरले पनि कबोल गरे । यो व्यवहारलाई अंश छल्न गरिएको जालसाजी दावी गर्र्र्दै गणेशकी पत्नी सुजाताले मुद्दामा उल्लेख गरिन् । अदालतले पनि गणेश र कृपासुर दुवैले जालसाँजी गरेको ठहर गर्दै जनही पाँच पाँच हजार जरिवाना गर्ने फैसला गरेकोछ ।


१० लाख लिएर अंश छाडेको भन्ने व्यहोरोको कागजातबाट नाबालकको अंश समेत छाडेको देखियो । यस्तो अवस्थामा अदालतले त्यो सहमतिलाई अस्वीकार मात्रै गरेन, कृपासुरको कुल सम्पत्तिको सात भागको एक भाग गणेशलाई र गणेशले पाएको एक भागको तीन भाग पत्नी, छोराछोरीलाई दिनु पर्ने फैसला गरेको छ ।

कृपासुरः महिलापीडक, पुत्रपीडक, पत्नीपीडक

कृपासुरको अपराध शृंखला संक्षेपमा उल्लेख गर्न नै नसकिने प्रकृतिको छ । आजभन्दा ४० वर्षअघि उनी सरकारी जागिरको सिलसिलामा भोजपुर पुगेका थिए । भोजपुरमै उनले एक धनमाया दर्नाल नामकी युवतीलाई गर्भवती बनाए । गरिब र सोझी युवतीलाई गर्भवती बनाएपछि लोकलाज हुने र स्वीकार गर्नु पर्ला भन्ने डरले उनी भोजपुरबाट भागे । ती युवती यिनै गणेशकी आमा थिइन् । त्यसै त दर्नाल हेपिएको जाती, त्यसमाथि एक सोझी अविवाहित युवती गर्भवती हुँदा उनले कति ठूलो सामाजिक पारिवारिक अवहेलना खेप्नु पर्यो होला ?

तर पनि गणेशको जन्म भयो । उनी मावली घरमै हुर्किए । जब कृपासुर नेकपा एमालेको राजनीतिमा क्रियाशील हुन थाले, त्यसपछि उनले यति एअरका साहु आङ छिरिङ शेर्पाको दलाली सुरु गरे । ७४ सालमा आङ छिरिङको त हेलिकोप्टर दुर्घटनामा निधन भयो, तर उनी तिनै शेर्पाको आशिर्वादमा पर्यटनमन्त्री सम्म भएका थिए ।

पर्यटन मन्त्री हुनुअघि नै गणेशले आफ्नो पहिचान खोजिसकेका थिए । झन्डै ३५ वर्षसम्म गणेशलाई कृपासुरले छोरो स्वीकार गरेनन् । कमला शेर्पा नामक महिलासँग उनी विवाह गरी घरजम गरि बसेका थिए । कमलाबाट पनि निमा, पेमा, फुर्वा, लक्की गरी तीन छोरा एक छोरी छन् । ती सबैले

कमलातिरका सन्तानले उच्च शिक्षा हाँसिल गरे । सुखसयलमा हुर्किए । तर धनमायापटिका गणेशले पहिचनासम्म पाएनन् । पर्यटनमन्त्री भएकै बखत गणेशको कथा देशका प्रमुख सञ्चार माध्यमहरुले सार्वजनिक गरे । त्यसपछि पर्यटनमन्त्रालयमै जिल्ला प्रशासन कार्यालयका कर्मचारी बोलाएर गणेशलाई नागरिकता दिन बाध्य भए ।

नागरिकता दिलाएपछि गणेशले आफ्नो हक खोजे । अंश माग्दै कृपासुरको घरमै पुगे । तर कृपासुरले ‘तिमीहरुलाई गोली हानेर मारिदिन्छु’ भन्दै धम्क्याए, घरबाट लखटे ।

उमेरले कृपासुर ६९ पुगिसके तर अझै पनि उनमा तुजुक कम भएको छैन । गणेश कृपासुरकै छोरा हुन् भन्ने कुरामा कुनै शंका छैन र थिएन । गणेश भन्छन्, ‘मन्त्री पद नै खुस्किने डरभएपछि बाध्य भएर नागरिकता दिएका हुन् ।’ त्यो बेला यो मामिला नेकपा एमालेको केन्द्रीय कमिटीमा पनि बहसको विषय बनेको थियो । तत्कालिन उपाध्यक्ष विद्यादेवी भण्डारीले बाबुछोरा दुवैलाई राखेर बाबुलाई निर्देशन दिँदै भनेकी थिइन्, ‘गणेशको र तपाईको अनुहार हुबहुमिल्छ । अब के को डिएनए ? थपक्क नागरिकता बनाइदिनूस् । उसको हक दिनूस् ।’

खासमा कृपासूर गणेशलाई छोरा होइन भन्दै हिँड्थे । नयाँ पत्रिका दैनिकले प्रथम पृष्ठमा छापेको कभर स्टोरीमा कृपासुरले ‘आफ्नो चरित्र हत्या गर्न नक्कली छोरा खडा गरिएको’ आशयमा प्रतिक्रिया दिएका थिए । तर सत्य त त्यही थियो कि उनले एक युवतीमाथि अपराध गरेकै थिए ।
त्यो बेला देशका पञ्चायतकाल थियो । हेपिएका जातीका पक्षमा बोलिदिने कोही भएनन् होला । अन्यथा कृपासुरले आफ्नो कुकर्मको सजाय त्यही बेला पाइसक्थे । तर अहिले पनि उनी सुध्रिने मतिमा छैनन् ।

अदालतले कृपासुरको सात भागको एक भाग गणेशलाई दिने फैसला गरिसकेको छ । यो फैसला अब कार्यान्वयन हुँदा कृपासुरले नचाहे पनि, नमाने पनि सरकारी संयन्त्रले नै गणेशलाई अंश दिलाइ दिनेछ ।

पार्टीको कारबाहीबाट जोगिने यस्तो यस्तो गर्थे कृपासुर


कृपासुर भन्सार विभागका सुव्वा थिए । ‘भन्सार नै सन्सार’ भन्ने कुरा कृपासुरले पनि पुष्टि गरे । औकातभन्दा बढी कमाई गरेर उनी राजीतिमा प्रवेश गरे । त्यही सम्पतिको बलमा ७० सालमा सांसद भए । गणेशलाई नागरिकता नदिएको विषय चर्चामा आएपछि धुम्बाराहीमा रहेको एउटा घर पार्टी कार्यालय राख्न उनले भूमिका खेले । त्यो कर्मले उनलाई पार्टी कारबाहीबाट जोगायो ।

प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईविरुद्ध बालिका खड्का प्रयोग गरेको भनेर पनि उनी विवादमा आए । बालिकाको मोबाइल नम्बरमा कृपासुरले नियमित फोन गरेको कल रेकर्ड थाहा भएको राईले निकटस्थहरुसँग बताउने गर्थे ।

गणेशलाई कसैले सहयोग गरेनन्

गणेशको मामिला मिडियामा धेरै आयो । मिडियाबाट घटना सार्वजनिक भएपछि कृपासुरमाथि केही दबाब सिर्जना भयो । तर उनले निरन्तर छोरा झुक्याउने र कमला तिरका सन्तानलाई मात्रै सम्पत्ति पोस्ने ध्यानमा लागि रहे । सहयोगको याचना सहित गणेश नेकपा एमाले, शेर्पाहरुको संघ संगठन विभिन्न मानवअधिकारवादी संस्था, युवाहरुका संस्था तिर धाए । तर कसैले पनि गणेशलाई सहयोग गरेनन् । अन्तिममा अहिले अदालतले नै न्याय गरेको छ । तर अदालतले भराएको अंश अझै पाइसकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्