Logo

नबिलका जोशी स्ट्यान्डर्ड चार्टर्डमा पुगे


काठमाडौं । नबिल बैंकमा लामो समय सेवा गरेका मोहनराज जोशी स्ट्यान्डर्ड चार्टर्ड बैंक पुगेका छन्। जोशी नबिलसँगको १३ वर्ष लामो सहयात्रा छाडेर स्ट्यान्डर्ड चार्टर्ड बैंक पुगेका हुन्। नबिल बैंकमा उनी प्रबन्धक थिए । चार्टर्डमा उनी भ्यालु सेन्टर जनरल म्यानेजर (भीसीजीएम) का रुपमा नियुक्त भएका छन्।

उनले त्यहाँ साना तथा मझौला (एसएमइ) उद्यत तथा मध्यम कर्पोरेट हेर्ने छन्। मेकानिकल इन्जिनियरिङ गरेका जोशीले सुरुमा कस्मिक एयरमा काम गरेका थिए। त्यहाँ दुई वर्ष बिताएपछि एमबीए गर्न भारत गएका थिए। त्यही बेला उनले भारतमा पनि एउटा बहुराष्ट्रिय कम्पनीमा काम गरेका थिए।

त्यहाँबाट उनी तत्कालीन क्लिन इनर्जी डेभलपमेन्ट बैंक (अहिलेको एनएमबि) मा काम गर्न नेपाल फर्किए। ऊर्जा क्षेत्रमा काम गर्ने क्लिन इनर्जीपछि उनी २००८ मा नबिल छिरेका थिए। त्यतिबेलासम्म बैंकहरुले कर्पोरेट बैंकिङका लागि मात्र छुट्टै विभाग बनाएर काम गर्ने गर्थे। परियोजनाहरु हेर्ने गरी छुट्टै विभाग थिएन। नबिलमा उनी आएपछि बैंकले ‘इन्फ्रास्ट्रक्चर एण्ड प्रोजेक्ट फाइनान्सिङ’ विभाग बनायो।

त्यहाँ बसेर उनले ठुलठूला सिमेन्ट उद्योगदेखि जलविद्युत परियोजनाहरुमा फाइनान्सिङका लागि काम गरेका थिए। उनले शिवम्, घोराही, मारुती जस्ता सिमेन्टका लागि ऋण व्यवस्थापन गर्न नेतृत्वदायी भूमिका खेलेका थिए।

यसबाहेक अरुण तेस्रो, माउन्टेन इनर्जीजस्ता परियोजनाका लागि पनि उनले ऋण व्यस्थापनका लागि काम गरेका थिए। पछिल्लो केही समय भने उनी साना तथा मझौला उद्यम तथा कर्पोरेट बैंकिङमा काम गरिरहेका थिए। उनले काठमाडौं युनिभर्सिटीबाट एमफिल पनि गरेका छन् भने त्यहाँ अध्यापन पनि गर्छन्।

प्रतिक्रिया दिनुहोस्