छलफल विना नै मन्त्री थप्दै गएपछि शेरबहादुरसंग पौडेल पक्ष असंतुष्ट, अहिले कै अवस्थामा पार्टी अघि बढ्न नसक्ने निष्कर्ष
विकास टाइम्स
प्रकाशित मिति : 22 September, 2021


नेपाली कांग्रेसको संस्थापनइतर पक्षले पछिल्लो मन्त्रिपरिषद् विस्तारलाई लिएर असन्तुष्टि व्यक्त गरेको छ। बुधबार महामन्त्री शशांक कोइरालानिवास महाराजगन्जमा बसेको इतर पक्षको बैठकमा नेताहरूले असन्तुष्टि व्यक्त गरेका हुन्।
बैठकपछि कांग्रेस नेतृ सुजाता कोइरालाले भनिन–‘त्यतिवेला पनि कुनै छलफल भएन। यसपटक पनि शेरबहादुरजीले हामीसँग छलफल गर्नुभएन। यसले पार्टी कमजोर भएर जान्छ भन्ने विषयमा छलफल भयो ।’
पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले छलफल नगरी डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाएपछि पौडेल समूह असन्तुष्ट बनेको हो। नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाइतर समूहको बैठकले यही अवस्थामा पार्टी अगाडि बढ्न नसक्ने निष्कर्ष निकालेको छ।
नेतृ कोइरालाले भनिन्, ‘पार्टीमा जताततै विवाद उत्पन्न भइरहेको छ। साथीहरू अनशन बस्नुभएको छ। अधिवेशनमा उस्तै विवाद छ। यही अवस्थामा पार्टी अघि बढ्न सक्दैन।’
पार्टीभित्रको विवादको विषयमा गम्भीर छलफल भएको बताइन्। बैठकमा जिल्ला जिल्लाबाट आएका नेताहरूको कुरा सुन्दा पार्टी नराम्रो अवस्थामा गइरहेको बुझिएको बताइन्।

