Logo

१३ जिल्लाको वडा अधिवेशन सकेर मात्र पालिका अधिवेशन गर्नुपर्ने पौडेलपक्षको माग


नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले क्रियाशीदल सदस्यता टुंगो लाग्न बाँकी १३ जिल्लाको वडा अधिवेशन सकेर मात्र पालिका अधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेको छ । महामन्त्री डा. शशांक कोइरालाको निवास महाराजगन्जमा बसेको बैठकले यसअघि वडा अधिवेशनजस्तै मनलाग्दी कार्यतालिकामा अधिवेशन गरिए कतिपय जिल्ला महाधिवेशनको प्रक्रियामै छुटाइन सक्ने निष्कर्ष निकालेको हो ।

पौडेल पक्षले क्रियाशील सदस्यतामा आफूअनुकूल भएका जिल्ला मात्र टुंग्याउने र वडा अधिवेशन गर्ने काम भएको निष्कर्ष निकालेको छ । सो समूहका नेता बलबहादुर केसीले अब पालिका अधिवेशनमा पनि त्यस्तो नहोस् भनेर बाँकी जिल्लाको वडा अधिवेशन सकेर एकसाथ पालिका अधिवेशन गर्नुपर्ने आफुहरुको माग हरेको बताए । विगतमा धनुषाको क्षेत्र नम्बर–५ छुट्न पुगेको भन्दै अहिले पनि त्यसरी अरू जिल्ला नछुटाउन एकसाथ अधिवेशन माग गरिएको उनले बताए ।

पौडेल–कोइराला समूहका पदाधिकारी तथा पूर्वपदाधिकारीहरू महाराजगन्ज बैठक सकेर पदाधिकारी र पूर्वपदाधिकारी बैठकका लागि सिंहदरबारस्थित संसदीय दलको कार्यालय पुगेका छन् । सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा भने विभिन्न जिल्लाका क्रियाशील सदस्यता विवादलाई लिएर धर्ना जारी रहेकाले सभापति शेरबहादुर देउवा सानेपा जाने गरेका छैनन् । त्यसैले कांग्रेसको बैठक बूढानीलकण्ठ, सिंहदरबार, बालुवाटारसहितका विभिन्न स्थानमा बस्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्