Logo

धादिङ राप्रपामा बुद्धिमानको हैकमवाद : आफू इतरकाले जित्ने भएपछि स्थगित गराए क्षेत्रीय अधिवेशन


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी धादिङको प्रतिनिधिसभा क्षेत्र नम्बर दुई अन्तर्गत प्रदेश सभा क्षेत्र ‘ख’ को अधिवेशन स्थगित भएको छ । पूर्वगृहमन्त्री समेत रहेका राप्रपाका नेता वुद्धीमान तामाङको ठाडो आदेशमा अधिवेशन स्थगन भएको राप्रपाका नेता कार्यकर्ताहरुले बताएका छन् ।


नेता तामाङले आफू निकट हरी भण्डारीलाई क्षेत्रीय अध्यक्ष बनाउन चाहेको तर उनी पराजीत हुने निश्चित भएपछि अधिवेशन नै स्थगित गर्न आदेश दिएको बताइएको छ । उनी इतरका नेता कार्यकर्ताले भने सो क्षेत्रका जनतामाझ लोकप्रिय रहेका सुनिलकुमार भट्टलाई क्षेत्रीय अध्यक्षका लागि अगाडी सारेका थिए ।

पार्टीलाई विधि र विधान सम्मत चलाउनुपर्नेमा जोड दिँदै आएका सुनिलकुमार भट्ट सो क्षेत्रका जनताले रुचाएको नेता समेत रहेको राप्रपाका केन्द्रीय सदस्य सूर्य तामाङले बताए । उनले भने, ‘सुनिलकुमार भट्टले निरन्तर स्थानीय तहमा बसेर जनताको काम गर्दै आउनु भएको छ । जसले गर्दा उहाँले जनविश्वास पनि पाउनु भएको छ । पार्टीलाई बलियो बनाउनका लागि उहाँलाई क्षेत्रीय अध्यक्ष बनाउनुपर्छ भन्ने हाम्रो मान्यता हो तर माथिका नेताले अर्काे व्यक्तिलाई अगाडी सारेपछि हामीले अधिवेशन बहिस्कार गरेका छौँ ।’ नेता वुद्धीमान तामाङले भने स्थानीय नेता कार्यकर्ता र जनताले समेत नचिनेका हरी भण्डारीलाई अगाडी सारिएको उनले बताए ।


हरी भण्डारी शहरतिरै बस्ने गरेको र विभिन्न आर्थिक हिनामिनामा समेत मुछिएको उनले बताए । भण्डारीको मतदाता नामवली समेत नभएको सुर्यले दावी गरे ।


सो क्षेत्रका स्थानीय तहबाट प्रदेश सभा क्षत्रीय अधिवेशनका लागि छनोट भएर आएका ८३ जना प्रतिनिधिमध्ये ७५ जना भन्दा बढीको समर्थन आफूले पाएको भट्टले दावी गरेका छन् । उनले भने, ‘क्षेत्रीय अधिवेशनका लागि आएका ८३ जना प्रतिनिधिमध्ये ७५ जना भन्दा बढीले मलाई समर्थन गर्नुभएको छ । यति धेरै समर्थन भएपछि सर्वमम्मतले जाऔँ भनेको हुँ । तर उहाँहरु तयार हुनु भएन । निर्वाचनको प्रक्रियामा जाऔँ भन्दा माथिको नेताको आदेशमा अधिवेशन नै स्थगित गर्यो । अव हामीले अधिवेशन बहिस्कार गरेका छौँ ।’

नेता वुद्धिमान तामाङले आफ्नो शक्तिको दुरुपयोग गरी स्थानीय जनतामाझ अलोकप्रिय व्यक्तिलाई नेतृत्व दिन खोजेपछि सो क्षेत्रको अधिवेशन नै अन्योलमा परेको छ । तर यस घटनाले कुनै बेला धादिङको सर्वोच्च नेताको उपाधि पाएका वुद्धिमानको उचाई घट्ने राप्रपा धादिङका नेता कार्यकर्ताको आंकलन छ ।


राप्रपाभित्र निकै प्रभावशाली स्थान बनाएका नेता वुद्धीमान तामाङले जिल्लाका नेता कार्यकर्तालाई माथि उठ्नै नदिने सोही राप्रपाकै नेताहरु दावी गर्छन । आफ्नो तजविजमा चल्ने व्यक्तिलाई मात्रै माथि जिम्मेवारी दिने र अन्यलाई दवावमा राख्ने गरेको उनीहरु बताउँछन् । केही महिना अघि राप्रपाको केन्द्रीय सदस्य पद परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका नेता श्याम लामाले पनि वुद्धीमान तामाङले आफूहरुलाई माथि उठाउनुको सट्टा दवाएर राख्ने गरेको आरोप लगाएका थिए । नेता तामाङकै हैकमवादी प्रवृत्तिका कारण धादिङमा राप्रपा हराउँदै गएको सोही पार्टीका कार्यकर्ताहरु नेै बताउँछन् ।


राप्रपाको महाधिवेशन आगामी कात्र्तिक २७ देखि ३० सम्म काठमाडौंमा हुँदैछ । महाधिवेशन कार्यतालिका अनुसार भदौ मसान्तभित्र वडादेखि जिल्ला सम्मको अधिवेशन सकाउनुपर्ने थियो । तर हालसम्म क्षेत्रको अधिवेशन पनि सम्पन्न हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्