Logo

कांग्रेसलाई जिताउने अभियानमा अहिलेदेखि नै लाग्न जरुरी छ : विष्णु लामिछाने


काठमाडौं । नेपाली कांग्रेस नवलपरासीका जिल्ला सभापति विष्णु लामिछानेले आगामी निर्वाचनमा पार्टीलाई जिताउने अभियानमा जुट्न पार्टीका नवनिर्वाचित वडा कार्यसमिति तथा प्रतिनिधिहरुलाई अपील गरेका छन् । कांग्रेस नेता खुसीराम महत्वको निधनप्रति श्रद्धाञ्जलीका लागि नवलपरासीको कावासोतीस्थित निवासमा आयोजित शोक सभामा बोल्दै सभापति लामिछानेले यस्तो बताएका हुन् ।

नेता लामिछानेले पार्टीका नेता कार्यकर्ताले विश्वास गरेर पदीय जिम्मेवारी दिएको भन्दै त्यसलाई सदुपयोग गर्न वडा अधिवेशनबाट निर्वाचित सबैलाई पार्टीलाई थप उर्जाशील बनाउने अभियानमा लाग्न आग्रह गरे । उनले भने, ‘अव छिट्टै स्थानीय तहको निर्वाचन हुँदैछ, त्यसलाई जित्ने हिसावले लाग्नुपर्छ , तपाईँहरुको जुन उर्जा अहिले छ । त्यसलाई निर्वाचनमा पनि देखाउनुपर्छ ।’

त्यसैगरी कांग्रेसका युवा नेता विष्णु कार्कीले नेपाली कांग्रेसका प्रत्येक क्रियाशील सदस्यले दैनिक कम्तिमा दुई घण्टा पार्टीको सिद्धान्त र विचारको विषयमा चिन्तन गर्नुपर्ने बताएका छन् । उनले क्रियाशीलसदस्य बन्न र बनाउन तँछाडमछाड गर्ने तर पार्टीको विचार र सिद्धान्तप्रति चिन्तन मनन नगर्ने प्रवृत्ति देखिएको भन्दै क्रियाशील सदस्यता लिएकाहरु पार्टीको सिपाही बन्नुपर्नेमा कार्कीले जोड दिए ।
दिवंगत नेता खुसीराम महत्व नेपाली कांग्रसको वास्तविक सिपाही भएको उल्लेख गर्दै उनको त्याग र समर्पणको उच्च कदर गरिनुपर्नेमा कार्कीको जोड थियो ।

शोकसभामा नेपाल प्रेस युनियनका सल्लाहकार शिव लम्साल लगायत नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्