Logo

कारागार र थुनुवा कक्षलाई पुस्तक सङ्कलन



जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय चितवन र सामुदायिक सेवा केन्द्र नारायणगढको संयुक्त आयोजनामा पुस्तक सङ्कलन सप्ताह सुरु भएको छ । जिल्लाका विभिन्न स्थानमा पुस्तक सङ्कलन गर्न लागिएको हो ।

कारागार कार्यालय चितवन, जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्ष र पिटुसिटुमा पुस्तक राख्नका लागि सङ्कलन कार्यक्रम सञ्चालन गरिएको हो । पुल्चोक, चौबिसकोठी, केन्द्रीय बस ट्रमिनलमा पुस्तक सङ्कलन गरिनेछ । कार्यक्रम आजदेखि यही १६ गतेसम्म सञ्चालन हुनेछ ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी आशमान तामाङले सङ्कलित पुस्तकले कैदीबन्दी र सडक बालबालिका लाभान्वित हुने बताउनुभयो । पिटुसिटुमा सडक बालबालिका आवासीयरुपमा राखेर अध्ययन अध्यापन गराइँदै आइएको छ । सामुदायिक सेवा केन्द्रका अध्यक्ष मीना खरेलको सभापतित्वमा भएको शुभारम्भ कार्यक्रममा नेपाल पत्रकार महासङ्घ चितवन शाखाका अध्यक्ष नारायण अधिकारी, भरतपुर महानगरपालिकाका प्रवक्ता अरुणपीडित भण्डारी, कार्यक्रम संयोजक अर्जुन अधिकारीले पुस्तक सङ्कलनबाट हुने फाइदाका विषयमा जानकारी गराएको थियो ।

सो अवसरमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओम प्रकाश अधिकारीले अभियानको उद्देश्यका बारेमा प्रकाश पार्नुभएको थियो । सम्पूर्ण किताबका सञ्चालक लेखराम सापकोटाले आफ्नो प्रकाशन र पसलमा रहेका उत्कृष्ट पुस्तक प्रमुख जिल्ला अधिकारी तामाङलाई हस्तान्तरण गर्नुभएको थियो । सोही अवसरमा नेपाल पत्रकार महासङ्घका सदस्यले लेखेका पुस्तक सापकोटामार्फत यस अभियानमा सङ्कलन गरिने जानकारी गराएको थियो ।
रासस–––

प्रतिक्रिया दिनुहोस्