नेपाली कांग्रेस बेनिघाट रोराङको सभापतिमा ऋषिनाथ त्रीपाठी सर्वसम्मतले चयन
विकास टाइम्स
प्रकाशित मिति : 25 September, 2021


धादिङ । नेपाली कांग्रेस बेनिघाट रोराङ गाउँपालिका धादिङको सभापतिमा ऋषिनाथ त्रीपाठी सर्वसम्मतले चयन हुनु भएको छ । कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत शनिबार भएको पालिका अधिवेशनबाट सभापतिसहित सबै पदाधिकारी सर्वसम्मतले चयन भएको हो । ऋषिनाथ त्रीपाठी यस अघि पनि तीन पटक सभापति भएका थिए । सभापति, उपसभापति र सचिवका लागि दावेदारीहरु निस्किए पनि अन्त्यमा सबै पदमा सर्वसम्मत भएको हो ।
सभापतिमा राम बरामले दावी गरेका थिए तर अन्त्यमा उनले पनि ऋषिनाथ त्रीपाठीलाई नै समर्थन गरेका थिए । त्यसप
श्चात अन्य पदका दावीदारीहरुले पनि सहमति गर्दै उम्मेदवारी फिर्ता गरेका थिए ।
उपसभापतिमा जीवनसिंङ तामाङ र इश्वर श्रेष्ठ निर्वाचित भएका छन् । सचिवमा प्रलाद कँडेल र रोशन सेँडाई निर्वाचित भएका छन् । सहसचिवमा सन्तोष थापा मगर र कुमारी डल्लाकोटी चयन भएका छन् भने कोषाध्यक्षमा गोमादेवी सिलवाल चयन भएकी छन् ।

बेनिघाट रोराङ सँगै सिमाना जोडिएको गजुरी गाउँपालिकामा पनि निवर्तमान सभपाति भूमि कँडेल सर्वसम्मतले पालिका सभापतिमा चयन भएका छन् ।
कांग्रेसले हिमाली जिल्लाको अधिवेशन दशैँ अघि नै गर्ने निर्णय गरेसँगै धादिङका सबै पालिकामा शनिबार अधिवेशन भएको हो । अधिकांश स्थानीय तहमा सर्वसम्मत भएको कांग्रेस धादिङले जानकारी दिएको छ ।
अधिवेशन कार्यतालिका अनुसार असोज १२ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन हुने छ । १५ गते प्रतिनिधिसभा क्षेत्रको अधिवेशन हुनेछ । तर एक मात्र संघीय क्षेत्र भएको जिल्लामा १५ गते नै जिल्ला अधिवेशन हुनेछ । एक भन्दा बढी संघीय निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन भने असोज १८ गते हुनेछ ।


