तोकिएकै समयमा कांग्रेसको महाधिवेशन हुन्छ : नेता लेखक
विकास टाइम्स
प्रकाशित मिति : 27 September, 2021


नेपाली कांग्रेसका नेता रमेश लेखकले तोकिएकै मितिमा कांग्रेसको १४औँ महाधिवेशन हुने बताउनुभएको छ । रिपोर्टर्स क्बल नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले पार्टीको क्रियाशील सदस्यता विवाद क्रमशः टुङ्गिँदै गएकाले पार्टीको १४औँ महाधिवेशन तोकिएकै समयमा हुने बताउनुभएको हो । “६९ जिल्लाका क्रियाशील सदस्यता विवाद टुङ्गिसकेको छ, बाँकी आठ जिल्लाको पनि चाँडै टुङ्ग्याएर दशैँ अगाडि नै ७७ वटै जिल्लाको जिल्ला अधिवेशन सम्पन्न हुन्छ”, उहाँले भन्नुभयो । महाधिवेशन तयारी अगाडि बढिसकेकाले समयमा नै महाधिवेशन सम्पन्न हुने उहाँको भनाइ छ ।
पूर्वमन्त्री लेखकले सरकार गठन भएको लामो समय बितिसक्दा पनि सरकारलाई पूर्णता दिन नसकेको भनेर जनस्तरबाट आवाज उठ्नु स्वाभाविक भएको भन्दै अब एक÷दुई दिनभित्र सरकारले पूर्णता पाउने बताउनुभयो । “यो गठबन्धनको सरकार भएकाले राजनीतिक र वैधानिक समस्या समाधान गर्नुपर्ने भएकाले सरकार विस्तारमा ढिलाइ भएको हो”, उहाँले भन्नुभयो ।
नेता लेखकले अघिल्लो निर्वाचनमा कांग्रेसलाई प्रतिपक्षमा बस्ने जनादेश दिए पनि विशेष परिस्थितिमा कांग्रेस सरकार बनेको भन्दै १०० दिनसम्म कांग्रेस सरकारको बारेमा टीकाटिप्पणी गर्नु उचित नभएको बताउनुभयो । कोभिड विरुद्धको लडाइँमा सरकारले प्रभावकारी काम गरेको उहाँको भनाइ थियो ।
–रासस

