Logo

देउवा निकट नेता देवेन्द्रराज कँडेलको गृहजिल्ला पश्चिम नवलपरासीमा पौडेल पक्षको बर्चश्व



नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पश्चिम नवलपरासीको गाउँ–नगर अधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको वर्चश्व देखिएको छ । देउवा पक्षका प्रभावशाली केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलको गृहजिल्ला नवलपरासीका ७ स्थानीय तहमध्ये तीनवटामा देउवा समूह, चार वटा पालिकामा पौडेलले नेतृत्व हात पारेको छ ।

सुनवल, बर्दघाट, नगरपालिका तथा सुस्ता र प्रतापपुर गाउँपालिकामा पौडेल पक्षका सभापतिले जीत निकालेका छन् । रामग्राम नगरपालिका तथा पाल्हिनन्दन र सरावल गाउँपालिकाको सभापति देउवा समूहले जीत हात पारेका छन् । सुनवल नगरपालिका सभापतिमा सोमबहादुर रायमाझी निर्वाचित भएका छन् । रायमाझीले देउवा समूहका खेमराज पाण्डेयलाई फराकिलो मतान्तरले पराजित गरेका हुन् । यस्तै बर्दघाट नगरपालिका सभापतिमा दामोदर जीसी विजयी भएका छन् । उनले देउवा समूहका शम्भुलाल श्रेष्ठलाई पराजित गरे । अन्य पदाधिकारीमा पनि पौडेल समूहका उम्मेदवारहरु विजयी भएका छन् ।

रामग्राम नगरपालिकाको सभापतिमा देउवा समूहका श्रीधर बस्याल निर्वाचित भएका छन् । बस्यालले पौडेल समूहका उमाशंकर श्रीवास्तवलाई पराजित गरेका हुन् । पाल्हिनन्दन गाउँपालिकामामा देउवा समूहका हरिहर चौहान सभापतिमा निर्वाचित भएका छन् । उनको पूरै प्यानल विजयी भएको हो ।

यसैगरी सरावल गाउँपालिकामा पनि देउवा समूहका विनोद पाण्डेको पूरै प्यानल विजयी भएको छ । सुस्ता गाउँपालिका सभापतिमा रविन्द्रकुमार बानियाँ निर्विरोध निर्वाचित भएका छन् । यस्तै प्रतापपुर गाउँपालिका सभापतिमा ज्ञानेन्द्रकुमार पञ्जियार निर्विरोध निर्वाचित भएका छन् ।।।

प्रतिक्रिया दिनुहोस्