Logo

मन्त्रीपरिषद् बिस्तारको अन्तिम तयारी, पौडेल सिटौला पक्षबाट को को बन्दैछन् मन्त्री ?


बुधबारसम्म आफ्नो कोटाबाट मन्त्री बन्नेको नाम दिन वरिष्ठ नेता पौडेल र सिटौलालाई प्रधानमन्त्री देउवाको आग्रह छ । पौडेल समूहभित्र मन्त्रीका लागि सुजाता कोइराला, मिनेन्द्र रिजाल, दिलेन्द्र बडु, तेजुलाल चौधरी र राजन केसीको नाम प्रस्तावित छ ।


पौडेल समूहले तीनजना मन्त्री पाउने अपेक्षाका साथ पाँच जनाको नाम छलफलका लागि अगाडि सारेको थियो । तर, अब पाँच जनाबाट दुई जनाको नाम छनोट गर्नुपर्ने भएको छ ।महामन्त्री शशांक कोइराला निकट स्रोतका अनुसार काँग्रेसबाट मन्त्रीमा महिलाको सहभागिता नभएकाले सुजाताको सम्भावना बलियो छ ।
प्रधानमन्त्री देउवाले पुष्पा भुसाललाई मन्त्री बनाउने चर्चा थियो । तर, आफ्नो समूहबाट ४ जना मन्त्री बनाउँदा देउवाको रोजाइमा भुसाल पर्न सकिनन् । त्यसको लाभ सुजातालाई पर्ने देखिएको छ ।


सुजाताले पनि महामन्त्री शशांक कोइरालामार्फत उपप्रधानमन्त्रीसहित सरकारमा जान लबिङ गरिरहेकी छन् । तर, यस पटक उपप्रधानमन्त्री नराख्ने प्रधानमन्त्री देउवाको अडान छ । सुजाताले उपप्रधानमन्त्री नपाए पनि सरकारमा जाने इच्छा जाहेर गएकाले उनको सम्भावना बलियो देखिएको पौडेल समूहका एक नेताले जानकारी दिए ।
ती नेताले भने, ‘हाम्रो समूहले पहिला तीनजना मन्त्री पाउने आशा थियो । प्रधानमन्त्रीजीले किस्ता–किस्तामा गरी आफ्नै समूहका चार जनालाई मन्त्री बनाइसक्नुभयो । काँग्रेसले ७ मन्त्रालय मात्र पाउने कुरा सुनिन्छ । एक मन्त्रालय सिटौलाजी होला । अब हामीले दुई मन्त्रालय मात्र पाउने अवस्था देखियो । हाम्रो समूहभित्रका कमन मान्छेलाई मन्त्री बनाउनुपर्ने अवस्था छ ।’

प्रधानमन्त्री देउवाले २९ असारमा प्रधानमन्त्रीको कार्यभार सम्हाल्दा आफू निकट बालकृष्ण खाँणलाई गृह र ज्ञानेन्द्र कार्कीलाई कानुन मन्त्री बनाएका थिए । साउन १० गते स्वास्थ्य राज्यमन्त्रीमा आफू निकट उमेश श्रेष्ठलाई नियुक्त गरेका थिए । यस्तै असोज ६ गते देउवाले आफू निकट डा। नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाएका छन् । अब काँग्रेसले पाउने तीन मन्त्रालयमा पौडेल र सिटौलाको कोटा मात्र बाँकी छ ।


ती नेताका अनुसार शशांक कोइरालाले सुजाता, मिनेन्द्र र दिलेन्द्रमध्ये एकजनालाई मन्त्री बनाउनेछन् । यस्तै रामचन्द्र पौडेल र प्रकाशमान सिंहले तेजुलाल चौधरी र राजन केसी मध्येबाट एक जना छान्ने अवस्था छ । चौधरी पौडेलसँग नजिक छन् भने केसी सिंह निकट हुन् ।
ती नेताका अनुसार कोइराला परिवार र पौडेल–सिंह मध्येबाट दुई जनाको नाम मन्त्रीका लागि पठाइने भएको छ । त्यसमा सुजाता र तेजुलालको सम्भावना बलियो देखिएको ती नेताको भनाइ छ । यता कृष्णप्रसाद सिटौलाले भने उमाकान्त चौधरी र भीमसेनदास प्रधानमध्ये एक जनाको नाम पठाउने भएका छन् ।


सोमबार साँझ सिटौलाले मन्त्री छनोटका विषयमा छलफल गरेका थिए । सुरुमा सिटौलाले यसपटक चौधरीलाई मौका दिनुपर्ने धारणा राखेका थिए । देउवाको नेतृत्वमा सरकार बनेको केही दिनमै गगन थापा, उमाकान्त चौधरी र भीमसेनदास प्रधानसँग सिटौलाले छलफल गरेका थिए । उक्त छलफलमा सिटौलाले भनेका थिए, ‘गगन र भीमसेनजी यसअघि मन्त्री भइसक्नुभएको छ । अब उमाकान्तजीलाई मौका दिनुपर्ला ।’
तर, यतिबेला गगन थापा सिटौला समूह परित्याग गरी पौडेल समूहमा पुगेपछि चौधरी र प्रधानमध्ये एक मन्त्री बन्ने पक्का देखिएको काँग्रेस नेताहरू बताउँछन् । पौडेल समूहबाट तेजुलाल चौधरी मन्त्री बनेको अवस्थामा समावेशीका आधारमा आफूले मौका पाउने प्रधानको आशा छ ।
महाधिवेशनमा काठमाडौँलाई मध्यनजर गरी देउवाले आफ्नो नाम पठाउन सिटौलालाई सुझाउने उनको बुझाइ छ ।

प्रतिक्रिया दिनुहोस्