Logo

तनहुँमा सामाजिक विकास कार्यालय स्थापना



गण्डकी प्रदेश सरकारले तनहुँमा सामाजिक विकास कार्यालय स्थापना गरेको छ ।

शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयका कार्यक्रम कार्यान्वयनका लागि जिल्लामा सामाजिक विकास कार्यालय स्थापना गरिएको हो । शिक्षा विकास तथा समन्वय इकाईको दुई कोठामा सो कार्यालय सञ्चालन गरिएको छ ।

कार्यालयको बुधबार उद्घाटन गर्दै शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले अन्य कार्यालयको सेवाग्राहीभन्दा सामाजिक विकास कार्यालयको सेवाग्राही फरक भएकाले संवेदनशील भएर सेवा प्रवाह गर्नुपर्ने बताए ।

उनले बालबालिका, महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिलाई सहज रुपमा सेवा प्रवाह गर्न कार्यालय स्थापना गरिएको बताउँदै ११ वटै जिल्लामा कार्यालय स्थापना गर्ने निर्णय भएको बताए । प्रदेश सरकार जनताप्रति उत्तरदायी हुन र जनतासँग नजिक रहेर काम गर्ने उद्देश्यसहित सामाजिक विकास कार्यालय स्थापना गरिएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले भने, “सहकार्य र सहअस्तित्वका आधारमा तीन तहको सरकारबीच समन्वय गरेर काम गर्नुपर्छ ।”

मन्त्री श्रेष्ठले सबै नागरिक स्वस्थ्य र शिक्षित भएमात्रै देश विकास सम्भव रहेकाले हरेक नागरिकलाई शिक्षित र स्वस्थ्य बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।

प्रदेशसभा सदस्य आशा कोइरालाले जिल्लास्तरमा कार्यालय नहुँदा सेवाग्राहीले सेवा पाउन गाह्रो भएको महसुुस गरी कार्यालय स्थापना गरेकामा प्रदेश सरकारलाई धन्यवाद दिनुभयो । प्रदेशसभा सदस्य डोवाटे विक र सरिता गुरुङले जिल्लामा कार्यालय नहुँदा मन्त्रालयको सेवा लिन पोखरा पुग्नुपर्ने बाध्यताको अन्त्य भएको बताए ।
जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले संविधानको मर्म अनुसार धेरै कार्यालयको काम स्थानीय तहले गर्ने भनिएता पनि त्यसको सफल कार्यान्वयन हुन नसकेको बताए । सामाजिक क्षेत्र, संस्कृति संरक्षण र सम्बद्र्धनका लागि कार्यालयले काम गर्नुपर्नेमा उनले जोड दिए ।

मन्त्रालयका महाशाखा प्रमुख तोयनाथ लम्सालले हालसम्म गण्डकी प्रदेशका पाँच जिल्लामा सामाजिक विकास कार्यालय स्थापना गरिएको जानकारी दिए । उनले आजै गोरखामा र भोलि नवलपुरमा कार्यालय स्थापना गरिने बताए ।

हिंसापीडित महिला, ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्तिहरुलाई सहज रुपमा सेवा दिन कार्यालय स्थापना गरिएको कार्यालयका प्रमुख बुद्धिसागर घिमिरेले जानकारी दिए ।

सामाजिक विकास मन्त्रालय मातहतको महिला विकास कार्यालयको अलपत्र भवनलाई चाँडै सम्पन्न गरी सामाजिक विकास कार्यालय सोही भवनबाट सञ्चालन गर्ने तयारी गरिएको छ ।
रासस

प्रतिक्रिया दिनुहोस्