Logo

१४ लाख परिवारका लागि जग्गा व्यवस्था गर्दै भूमि आयोग


काठमाडौं । राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले देशका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासको भूमिसम्बन्धी समस्या दीर्घकालीन समाधान गरिने बताएका छन् ।

उदयपुरमा आयोगको लिल्लास्थित कार्यालय स्थापना र अध्यक्षको पदवहाली कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष निरौलाले मुलुकभरका करिब १४ लाख भूमिहीन,सुकुकुम्बासी र अव्यवस्थित बसोबासी परिवारका लागि जग्गा व्यवस्थापन गर्ने तथा पुराना अधुरा कामलाई निरन्तरता दिएर थाति रहेका सबै काम गर्ने गरी आयोगले काम गरिरहेको बताएका हुन् ।

प्रारम्भिक अभिलेख अनुसार हाल मुलुकमा भूमिहीन दलित परिवारको सङ्ख्या दुई लाख ३२ हजार, सुकुम्बासी परिवार तीन लाख ३७ र अव्यवस्थित बसोबासीहरु ७ लाख ६५ हजार परिवार रहेको उनले बताएका छन् ।

जिल्लास्थित नापी, मालपोत, जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत, जिल्ला समन्वय समितिका अधिकृत र वन डिभिजन कार्यालय पदेन सदस्य रहने यो समितिलाई अन्य सदस्यको समेत मनोनयन गरी माघ मसान्तभित्र पूर्णता दिइने अध्यक्ष निरौलाले बताएका छन् ।

आयोगले हालसम्म २८ जिल्लामा अध्यक्ष तोकिसकेको छ । उनीहरुलाई मन्त्रिपरिषद बैठकबाट पारित गराएर अध्यक्ष तोकिएको हो ।

यसअघि पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पालामा गठन भएको आयोगमा राजनीति भएको भन्दै शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि उक्त कमिटी विघटन गरिएको थियो ।

आयोगलाई भूमिहिन दलित तथा सुकुम्वासीलाई जग्गा वितरण गर्ने क्षेत्राधिकार रहेको छ। भूमिहिन दलित तथा सुकुम्वासीलाई जग्गा वितरण गर्दा स्थानीय तह तथा नापी कार्यालयको समन्वय अनिवार्य गरिएको छ।

प्रतिक्रिया दिनुहोस्