Logo

नेपाल स्टक एक्सचेन्जको कार्यकारीमा कार्की


काठमाडौं । नेप्सेको कार्यकारी अधिकृत सीईओमा कृष्णबहादुर कार्कीलाई नियुक्त गरेको छ । गत सोमवार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई सीईओको जिम्मेवारी दिएको हो ।

सार्वजनिक प्रशासन र अर्थशास्त्रमा स्नातकोत्तर कार्की हाल बूढीगण्डकी जलविद्युत आयोजना वातावरण, मुआब्जा, पुनर्वास तथा पुनस्र्थापना इकाइका प्रमुख छन् । बुक बिल्डिङमार्फत आईपीओ जारी गर्न लागेको सर्वोत्तम सिमेन्टको सेयर नेप्सेका सीईओ चन्द्रसिंह साउदले श्रीमतीको नाममा खरिद गरेका थिए ।

प्रतिकित्ता ७५० रुपैयाँमा आईपीओ जारी गर्न लागेको सर्वोत्तमको सेयर साउदले २५० रुपैयाँमा १० हजार कित्ता किनेका थिए । यसरी पदीय मर्यादाविपरीत सर्वोत्तम सिमेन्टको आन्तरिक सेयर कारोबारमा विवादित भएका साउदले सरकारले निलम्बन गर्ने तयारीका साथै दोस्रो स्पष्टीकरण सोधेपछि राजीनामा दिएका थिए ।

चन्द्रसिंह साउदले गत भदौ ८ गते नेप्सेको सीईओबाट राजीनामा दिएका थिए । त्यसपछि नेप्सेमा सीईओ नियुक्तिका लागि अर्थ मन्त्रालयका सहसचिव रमेश केसीको संयोजकत्वमा सिफारिस समिति गठन गरिएको थियो । समितिमा मन्त्रालयकै सहसचिव रितेश शाक्य र विज्ञ सदस्यमा नेप्सेका पूर्वअध्यक्ष जीवनाथ धिताल थिए ।

रिक्त रहेको नेप्से सीईओ पदको प्रतिस्पर्धामा ११ जनाले आवेदन दिएका थिए । तीमध्ये पाँच जना सर्टलिस्टमा परेका थिए । गत पुस २६ मा त्यसबाट प्रवीण पन्दाक र रमेश घिमिरेलाई अस्वीकृत गर्दै छनोट समितिले बाँकी तीन जनामध्येबाट नेप्से सीईओमा नियुक्तिका लागि अर्थ मन्त्रालयमार्फत मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो ।

नक्कली सर्टिफिकेटको विषयले लियो उग्ररुपः गलत विवरण पठाए कम्पनी नै जरिवानामा

काठमाडौं । नेपाल लाइफ इन्सुरेन्सले शैक्षिक योग्यता नपुगेका व्यक्तिलाई नेपाल लाइफको सहायक प्रवन्धक पदमा नियुक्त गरेको भन्दै कारबाही गरेको बीमा समितिले सबै बीमा कम्पनीका कार्यरत कर्मचारीहरुको शैक्षिक योग्यताको सर्टिफिकेट माग गरेको छ ।

नक्कली शैक्षिक प्रमाणपत्र देखाएर जागिरमा नियुक्त भएका विषय चर्चामा आएपछि बीमा समिति कडा रुपमा प्रस्तुत भएको हो । यसअघि पनि नेपाल लाइफ इ्रन्स्योरेन्सले शैक्षिक योग्यता नपुगेका अमित कुमार कयाललाई सहायक महाप्रबन्धकमा नियुक्त गरेको भन्दै १० हजार रुपैयाँ जरिवाना गरेको थियो ।

यसरी बीमा क्षेत्रमा नक्कली शैक्षिक प्रमाणपत्रको बिगबिगी बढ्न थालेपछि समितिले हिजो (बिहीबार) एक निर्देशन जारी गर्दै बीमा कम्पनीमा कार्यरत सम्पुर्ण कर्मचारीहरूको विवरण एकहप्ताभित्र बुझाउन निर्देशन दिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

समितिले नक्कली शैक्षिक योग्यताको विवरण पठाएको पाएमा वा पठाउने कम्पनी दुबैलाई कारबाहिको दायरामा उभ्याउने कडा चेतावनी दिएसँगै उक्त विषयमा आबद्ध कर्मचारीहरु त्रसित बनेका छन् । समितिले विहिबार सम्पुर्ण बीमक तथा पुनर्बीमक कम्पनीहरुलाई यस विषयप्रति निर्देशन जारी गर्दै बीमा कम्पनीहरुमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको शैक्षिक योग्यताको प्रमाणपत्र एकहप्ताभित्र बीमा समितिमा पठाउन निर्देशन दिएको हो ।

प्रतिक्रिया दिनुहोस्