Logo

आउँदो चुनावमा पार्टी हराउने प्रयास नेतृत्वबाटै हुँदैछ


काठमाडौ । नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरेले सभापति शेर बहादुर देउवाले पार्टीमा गुटको कब्जा गराएको बताउनुभएको छ । उहाँले पार्टीलाई गुटको कब्जा गराएर आगामी निर्वाचनमा हराउने आधार संस्थापनले तयार पारिरहेको बताउनुभयो । प्रदेश १ मा मन्त्रालय फुटाएर संघीयतालाई बदनाम गर्ने काम गरिएको बताउदै उहाँले संघीयता आफैँमा खर्चिलो भनेर आलोचित भइरहेका बेला मन्त्रालय फुटाउने र गुट बलियो बनाउने कामले पार्टी र देश दुवैलाई कमजोर पारेको बताउनुभयो ।

उहाँले भन्नु भो “आजै मात्र प्रदेश–१ मा मन्त्रालय फुटाएर मन्त्रिपरिषद् विस्तार गरिएको छ । विस्तारित मन्त्रिपरिषद्मा संस्थापन गुटकालाई मात्र स्थान दिइएको छ,” काँग्रेस सभापति देउवाले आफ्नो गुट ब्यबस्थापन गर्न प्रदेश सरकार बिस्तार गरेको आरोप लगाउदै उहाँले भन्नु भो , “जताततै गुटको व्यवस्थापनले पार्टीलाई कमजोर पार्ने र आउँदो चुनावमा पार्टी हराउने प्रयास नेतृत्वबाटै हुँदैछ ।” सभापति देउवाको कार्य शैली प्रति आक्रोश ब्यक्त गर्दै नेता घिमिरेले हिजो प्रदेश कार्यसमिति नहुँदा संसदीय दलले निर्णय गर्ने गरेपनि अहिले संसदीय दल र प्रदेश कार्यसमिति दुवै भूमिकाविहीन भएको बताउनुभयो ।“प्रदेश कार्यसमितिमा नेतृत्व जो भए पनि कार्यसमितिमा सबै पक्षको प्रतिनिधित्व छ, त्यो कार्यसमितिले प्रदेश मन्त्रिपरिषद् विस्तारको सुइँको पाएन ।

संसदीय दलमा छलफल र निर्णय हुन सकेन,” घिमिरेले भन्नु भयो , “यो पार्टी समाप्त पार्ने र गुटको अस्तित्वमा रमाउने प्रयास हो ।” उहाँले कर्णालीमा पनि संस्थापनले गुटमात्र प्रतिनिधित्व गराएको भन्दै यसले देशभर पार्टी कमजोर पारेको बताउनुभयो । प्रदेश १ को मन्त्रिपरिषद् विस्तार हुँदा गुटको मात्र प्रतिनिधित्व भएपछि आन्तरिक मामिला मन्त्री केदार कार्कीसमेत अनुपस्थिति थिए । संसदीय दलले समेत निर्णय गर्न नपाउँदा प्रदेशमा असन्तुष्टि चुलिएको छ ।

प्रतिक्रिया दिनुहोस्