Logo

काठमाडौं उपत्यकामा आजदेखि शैक्षिक संस्थादेखि रात्रिकालीन व्यवसायसम्म खुल्ने


काठमाडौ । कोरोना महामारीको तेस्रो चरणमा बन्द भएका शैक्षिक संस्था, रेष्टुरेन्ट तथा रात्रिकालीन व्यवसाय आजबाट सञ्चालनमा आउने भएका छन्। कोभिड संकट व्यवस्थापन केन्द्र तथा उपत्यकाका प्रशासन सम्मिलित जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको निर्णय अनुसार आइतबारदेखि शैक्षिक संस्था, होटल, रेष्टुरेन्ट तथा रात्रिकालीन व्यवसाय सञ्चालनमा आउने भएका हुन्।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालका अनुसार जिल्ला प्रशासन कार्यालय भक्तपुर र ललितपुरसमेतको निर्णय अनुसार शैक्षिक संस्था खुलाउने र रात्रिकालीन व्यवसाय सञ्चालन गर्ने निर्णय भएको छ। पहिले बन्द गरिने भनिएका कुराहरू अब विस्तारै खोल्ने निर्णय भएको छ,’ रिजालले भने, ‘तेस्रो चरणको कोरोनाको संक्रमण कम भएसँगै हामीले कडाइमा न्यूनीकरण गरेका छौं।’ उनका अनुसार अब शैक्षिक संस्थामा १२ वर्षमुनिका विद्यार्थीका लागि इन्टरनेटबाटै शिक्षणको गतिविधि सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ। १२ वर्षमाथिका विद्यार्थीका लागि स्कुलमै गएर अध्ययन गर्ने गरी व्यवस्था मिलाइएको छ।

रिजालका अनुसार रात्रिकालीन व्यवसाय, होटल, सिनेमा हल, जिमखानाका लागि पनि समय तोकिएको छ। जसअनुसार डान्सबार, दोहोरी, नाचघर, लाउन्ज, पब, क्लबलगायत रात्रिकालीन व्यवसाय, सिनेमा हल, हेल्थ क्लब, जिमखाना, स्विमिङपुल तथा फुट्सल, जनस्वास्थ्य र सुरक्षाको मापदण्ड परिपालना गर्ने गरी फागुन १ गतेदेखि राति १० बजेसम्म खोल्न दिइने छ। खेलकुद कार्यक्रम सञ्चालन गर्दा एक पटकमा कूल दर्शक क्षमताको ५० प्रतिशतमात्र उपस्थित रहने गरी जनस्वास्थ्यका मापदण्ड र सम्बन्धित खेलको अन्तर्राष्ट्रिय नियम परिपालन गरी सञ्चालन गर्न दिइने रिजालले बताए। तेस्रो चरणको कोरोना संक्रमण ओमिक्रोनलाई मध्यनजर गर्दै सिसिएमसी र डिसिसिएमसीले काठमाडौं उपत्यकामा यातायातमा केही दिन जोरबिजोर लागू गरेको थियो। जोरबिजोरको निर्णय पुनर्विचार गरी यातायात सञ्चालन खुकुलो पारे पनि अन्य गतिविधिमा प्रशासनले कडाइ जारी राखेको थियो।

प्रतिक्रिया दिनुहोस्