Logo

नेपाल प्रेस युनियनको केन्द्रीय महाधिवेशन तत्काल घोषणा गर्न माग


काठमाडौं । लोकतन्त्रवादी पत्रकारहरुको छाता संस्था नेपाल प्रेस युनियनको महाधिवेशन तत्काल घोषणा गर्न पत्रकारहरुले माग गरेका छन् । प्रेस युनियन आवद्ध पत्रकारहरुको भेलाले तत्काल महाधिवेशनको मिति तोक्न केन्द्रीय समितिसँग माग गरेको हो ।

प्रेस युनियन काठमाडौं शाखाका पूर्व अध्यक्ष नकुल अर्यालको संयोजनमा भएको भेलाले कुनै बाहनाबाजी नगरी चैत दोस्रो हप्ताभित्र सम्पन्न हुने गरी महाधिवेशनको मिति तोक्नुपर्ने निर्णय गरेको हो । भेलाले युनियनको महाधिवेशन सुनिश्चित गराउन चरणबद्ध दवाव अभियान सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।

भेलामा प्रेस युनियनका सल्लाहकार शिव लम्साल, उपमहासचिव सलोजा दाहाल, सचिव खिला कार्की, केन्द्रीय सदस्यहरु दीलीप पौडेल, माधव चम्लागाई, रमेश वाग्ले र युवराज गौतम, काठमाडौं जिल्ला सभापति जगन्नाथ दुलाल, सिन्धुपाल्चोक जिल्ला सभापति दुर्गा आचार्य र ओखलढुंगा जिल्ला सभापति जीवन शर्माको उपस्थिति रहेको थियो ।

त्यसैगरी प्रेस युनियनका अग्रज नेताहरु ईन्द्र रिजाल, लीलाराज खनाल, नेपाल प्रेस युनियन उपत्यका समन्वय समितिका सदस्य सचिव कालिका महत, पत्रकार महासंघका केन्द्रीय लेखा समिति सदस्य मुकुन्द भण्डारी, काठमाडौ जिल्ला सचिव महेश्वर गौतम, सहसचिव अर्जुन डोटेल लगायतको उपस्थिति रहेको थियो ।

भेलामा आफ्नो धारणा राख्ने अधिकांशले विगतमा जुनसुकै बाहनाले रोकिएको भएपनि अब अविलम्ब प्रेस युनियनको महाधिवेशन गर्नुपर्नेमा जोड दिएका थिए । प्रेस युनियनको महाधिवेशन पछिल्लो पटक २०७१ साल भदौंमा पोखरामा भएको थियो ।

सो महाधिवेशनले निर्वाचित गरेको बद्री सिग्देल नेतृत्वको कार्यसमितिको कार्यकाल २०७४ भदौंमा समाप्त भइसकेको छ । युनियनको महाधिवेशन पटक–पटक तोकिए तापनि विभिन्न बाहनावाजीमा स्थगन हुँदै आएको थियो ।

नेपाली कांग्रेसको शुभेच्छुक संस्थासमेत रहेको युनियनलाई यथाशीघ्र महाधिवेशन गर्न कांग्रेसको कार्यसम्पादन समितिले निर्देशन समेत दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्