Logo

माओवादीले बोलायो केन्द्रीय समिति बैठक


काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठक बोलाएको छ। आगामी फागुन २० गतेदेखि २२ गतेसम्म राष्ट्रिय सभा गृहमा बस्ने गरी केन्द्रीय समिति बैठक बोलाएको पार्टी कार्यालय सचिव श्रीराम ढकालले बताए। ‘केन्द्रीय समिति बैठक २० गतेदेखि २२ गतेसम्म बोलाइएको छ। केही दिन लम्बिन सक्छ,’ ढकालले भने, ‘बैठकमा एमसीसी अनुमोदन, स्थानीय निर्वाचन, संगठन सुदृढीकरण र परिचालन तथा समसायिक विषय अजेण्डा हुन सक्छ। अरु आवश्यकता अनुसार थपिन सक्छ।’

एमसीसीका विषयमा पूर्वस्थायी समिति बैठकले निर्णय गरे पनि केन्द्रीय समितिबाट अनुमोदन हुने भएको छ। त्यस विषयमा अधिकांश नेताहरुले आलोचना गर्ने तयारी गरेका छन्। पार्टीको आठौ महाधिवेशन विपरित गएर एमसीसी पारित गरिएको भन्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आलोचना गर्ने तयारी गरेका छन्। त्यसमा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल, लेखनाथ न्यौपानेलगायत नेताहरुले असन्तुष्टि पोख्दै आएका छन्।

बैठक बस्नु अघि नै प्रचण्डले एमसीसीका विषयमा सोमबार पत्रकार सम्मेलन गरेर प्रष्ट पारेका छन्। यस्तै पार्टीमा त्यस विषयमा डबल स्ट्याण्ड लिएको भन्ने आरोपको समेत खण्डन गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्