Logo

१९ वर्षीया युवकले बनाए ब्रेक लगाउँदा ब्याट्री चार्ज हुने मोटरसाइकल


काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढ्दै जानु कुनै नौलो कुरा होइन ।यसबाट उम्किएर त्यसलाई कसरी समाधान दिन सकिन्छ भन्नेबारे जिज्ञासा राख्ने सप्तरीका १९ वर्षीया मौसमकुमार झाले केही दिनअघि मात्र आफूले निर्माण गरेको विद्युतीय बाइक सार्वजानिक गरेका छन् । सिभिल इन्जिनियरिङमा डिप्लोमा गरिरहेका झालाई विद्युतीय बाइक बनाउने रहर सानैदेखि थियो ।

“मसँग त्यतिबेला विद्युतीय बाइक कसरी बनाउने भन्नेबारे कुनै ज्ञान थिएन । आफूसँग पैसा पनि थिएन । सानै उमेरमा त्यत्रो पैसा घरबाट माग्न पनि सकिएन । मसँग केवल रहर मात्र थियो । जसले गर्दा त्यतिखेर अघि बढाउनेबारे सोच्न पनि सकिनँ,” झाले भने, “अहिले आफैँ केही रकम संकलन गरेर बनाउन लागी परेको थिएँ र केही दिन अघि मात्र मेरो यो काम पूरा भएको छ ।”

आत्मबल र ढृढ सङ्कल्प लिएर त्यसैमा लागिपरेका उनले आवश्यक सामान जम्मा गरेको करिब दुई सातामै यो बाइक बनाउन सफल भएको दाबी गरे । कोभिड महामारीको समयमा जारी लकडाउनको खाली समयमा उनी युट्युब र गुगलतिर आफूले बनाउन खोजेको बाइकबारे अनेक जानकारी बटुल्ने गर्थे । त्यसले उनलाई बाइक तयार पार्न निकै सहयोग गर्‍यो । व्यवहारिक ज्ञान बटुल्न थालेका झाले विद्युतीय बाइक आफैँ बनाउन सकिने कुरा पनि थाहा पाए । कसैको साथ, सहयोग र हौसलाबिना नै सुरु भएको उनको विद्युतीय बाइक बनाउने सपना अहिले आएर पूरा भएको छ । अहिले सबैले उनको कामको प्रशंसा गरिरहेका छन् ।

उनले विद्युतीय बाइक बनाउन आवश्यक केही सामान अमेजनबाट मगाए । बाँकी अन्य वेबसाइटहरूमा भेटे । “यसका लागि आवश्यक सामान नेपालमा खासै पाइँदैन । त्यसैले सबै भारतबाटै मगाउनु पर्‍यो । भारतमा ती सामानहरू सस्तो पर्ने भएकाले बाइक पनि सस्तो मूल्यमा तयार भयो, ” उनले भने । उनले निर्माण गरेको बाइकमा लिथियम आइरन फोस्फेट ब्याट्री राखिएको छ । यो ब्याट्री फुल चार्ज हुन छ देखि सात घण्टासम्म लाग्छ । ६० किलोमिटर प्रति घण्टा गतिमा गुड्न सक्ने यो बाइकमा एक हजार वाटको पीएमबीडीसी मोटर जडान गरिएको छ ।

फर्वार्ड र रिभर्स दुवै गियरमा चल्नसक्ने यो बाइकमा रिजेनेरेटिभ ब्रेकिङ सिस्टम छ । रिजेनेरेटिभ ब्रेकिङ सिस्टम प्रयोग गर्दा त्यसबाट ब्याट्री चार्ज हुन्छ । जसले गर्दा बाइकले थप तीनदेखि चार किलोमिटर यात्रा तय गर्न सक्छ । फुल चार्ज गर्दा दैनिक दुई युनिट विद्युत खपत गर्ने यो बाइकमा एक पटक फुल चार्ज गर्दा ११० किलोमिटरसम्म गुड्ने झाको दाबी छ ।

“नेपालमा पेट्रोलको मूल्य दिनप्रति दिन बढिरहेको छ । यो कुराले पनि मैले विद्युतीय बाइक बनाउनुपर्छ भन्ने प्रण गरेको थिएँ,” उनले थपे । लगानीकर्ता फेला पारेको खन्डमा ठूलो मात्रामा उत्पादन गरेर बजारसम्म पुर्‍याउन सकिने विश्वास झाको छ । यसमा अन्य थुप्रै विशेषता भएकाले बजार आकर्षित हुने कुरामा उनी ढुक्क छन् । “यो त मेरो केवल एक रहर थियो । रहरैरहरमा यति राम्रो बनेको चिजलाई व्यवसायिक रूपमा अघि बढाउन सकियो भने म सधैँ यसैमा समर्पित भइरहने छु, ” उनले ।

मेकानिकल इन्जिनियरिङ उनको पढाईको विषय नभए पनि उनले आफ्नो रहर पूरा गर्न मेकानिकल इन्जिनियरिङको यो क्षेत्र रोजे । यसमा केही गर्न नसके आफूले अध्ययन गरिरहेको सिभिल इन्जिनियरिङमै फर्किने उनी बताउँछन् । यद्यपि विद्युतीय बाइक बनाउँदा आर्थिक रूपमा केही सहयोग मिले यसैमा लागिपर्ने उनको सोच छ । यो बाइक निर्माण गर्दा उनको करिब एक लाख २५ हजार रुपैयाँ खर्च भएको छ ।

यदि धेरै मात्रामा बाइक निर्माण गर्न सकियो भने अझै सस्तो मूल्यमै तयार पार्न सकिने उनी बताउँछन् । जैविक विविधता संरक्षण गर्न, प्रदुषण कम गर्न, विदेशबाट आयात हुने पेट्रोलियम पदार्थमाथिको निर्भरता कम गर्न सरकारले विद्युतीय उपकरणहरू स्वदेशमै निर्माण गर्नेतर्फ प्रेरित गर्न आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्