Logo

बाघ गणनाका लागि राखिएका चार स्वचालित क्यामेरा चोरी


काठमाडौं । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाका लागि राखिएका स्वचालित चार वटा क्यामेरा हराएका छन्। निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालका अनुसार कृष्णपुर नगरपालिकाको दोमिल्लामा दुई वटा, डडेल्धुराको आलिताल र चिरकिट्टेमा एकरएक वटा गरी चार वटा क्यामेरा हराएका छन्।

‘बाघ गणनाका लागि राखिएका ठाउँमा क्यामेरा फेला परेका छैनन्‚’ उनले भने, ‘कसले कुन प्रयोजनका लागि निकालेर लगेको भन्ने अनुसन्धान भइरहेको छ।’ सूचना अधिकारी अर्यालका अनुसार निकुञ्ज क्षेत्रभित्रै एउटा क्यामेरा हात्तीले फुटालेको र अर्को राखेको ठाउँभन्दा ५० मिटर पर बाघले तानेर छाडेको अवस्थामा क्यामेरा भेटिएको छ। बाघ गणनाका लागि निकुञ्जसँग त्यसको आसपासको क्षेत्रमा स्वचालित क्यामेरा जडान गरेको हो।

शुक्लाफाँटा–लालझाडी–जोगबुढा कम्प्लेक्समा दुई किलोमिटर लम्बाई र दुई किलोमिटर चौडाइ भएको २६० वटा ग्रिडमा विभाजन गरी बाघ गणना अगाडि बढाइएको थियो। २६० वटा ग्रिडमा बाघ गणनका लागि निकुञ्जले ५२० वटा स्वचाति क्यामेरा जडान गरी बाघ गणना गरेको छ।

निकुञ्जअन्तर्गतका चाँदमारी, शुक्लाफाँटा, बेलडाँडी र हिरापुर गरी चार स्थानमा, डिभिजन वन कार्यालय कञ्चनपुरअन्तर्गत तिलकेनी, बेदकोट, दोमिल्ला र डाडाजाई गरी चार स्थान र डडेल्धुराका आलिताल, नाउला र चिरकिटेमा गरी ११ स्थानमा क्याम्प राखेर बाघ गणनाको कार्य गरिएको छ।

शुक्लाफाँटाका ९५ ग्रिडमा १९० क्यामेरा, लालझाडी–ब्रह्मदेवका ५८ ग्रिडमा २१४ र जोगबुढाका ५८ ग्रिडमा ११६ वटा क्यामेरा जडान गरिएका थिए। २० वटा क्याम्पमा ७० जना प्राविधिक र पाँच वटा हात्ती खटाएर गणना कार्य गरिएको अधिकृत अर्यालको भनाई रहेको छ। माघ २९ गते देखि २१ दिनसम्म बाघ गणनाको कार्य गरिएको छ।

बाघ गणनाका लागि राखिएका स्वचालित क्यामेरालले खिचेका फोटोहरू ग्रिडअनुसार छुट्टयाउने कार्यमा प्रावधिकहरुको टोलीले काम सुरू गरेका छन्। फोटो विश्लेषणका आधारमा विभागले बाघको संख्या यकिन गरी सार्वजनिक अधिकृत अर्यालले बताए। गत वर्षको तुलनमा बाघको उपस्थीति उत्साहजनक रहेको उनको भनाइ छ। सरकारले सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर पुर्‍याउने लक्ष्य लिएको छ। शुक्लाफाँटा ३०५ वर्गमिटर क्षेत्रफलमा फैलिएको छ।

प्रतिक्रिया दिनुहोस्