Logo

विद्यालयको पोशाकमा टिकटक बनाएको भन्दै प्रधानाध्यापकले कुटे विद्यार्थी


काठमाडौं । पाँचथरको फाल्गुनन्द गाउँपालिकामा प्रधानाध्यापकले विद्यार्थीलाई कुटेका छन् । फाल्गुनन्द १ नवमीडाँडास्थित श्री सिद्धदेवी माविका प्रधानाध्यापक वीरेन्द्र खड्काले कक्षा १२ मा अध्ययनरत १८ वर्षीय छात्र कुसन आङ्देम्बेलाई कुटपिट गरेका हुन् ।

कुटपिटपछि घाइते भएका विद्यार्थीलाई अहिले समर्पित अस्पताल पाँचथरमा भर्ना गरेर उपचार गरिएको छ । पालिकाले आयोजना गरेको राष्ट्रपति रनिङ शिल्डको तयारीमा रहेका कुसनले प्रधानाध्यापक खड्काले आफूलाई हिजो दिउँसो २ बजेतिर बोलाएर निर्घात कुटपिट गरेको बताएका छन् । उनले भने, ‘प्रधानाध्यापकले बक्सिङ स्टाइलमा कुटे ।’

घाइते विद्यार्थीको कानको पछाडि गम्भीर चोट लागेको छ । पिट्नुको कारण थाहा नपाएको भन्दै उनी भन्छन्, ‘साथीहरुबाट बुझ्दा विद्यालयको पोशाकमा टिकटक बनाएको कारणले कुटेको रे १’ पीडितका बुबा अर्जुनकुमार आङ्देम्बेले बिना कारण छोराले कुटाइ खाएको भन्दै दुःख प्रकट गर्दै न्यायको माग गरेका छन् ।

घटनाबारे थप जानकारी लिन प्रधानाध्यापक खडकालाई निजको मोबाइल नम्बरमा टेलिफोन गर्दा सम्पर्क हुन सकेन ।

प्रतिक्रिया दिनुहोस्