फूटको डिलमा पुग्यो गैरआवासीय नेपाली संघ, दुई समूहले गरे महाधिवेशनको मिति घोषणा
विकास टाइम्स
प्रकाशित मिति : 11 March, 2022


काठमाडौं । पटक–पटक निर्वाचन मिति तोक्दै स्थगित भई रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन आसन्न मितिमा पनि हुनेमा आशंका उत्पन्न भएको छ । निर्वाचन गराउन गठित निर्वाचन समिति संस्थाका संरक्षक तथा भूतपूर्व अध्यक्ष शेष घलेले पुनर्गठन गररिदिएपछि त्यहाँ उत्पन्न विवादले चर्को रुप लिएको हो ।
घलेले हालको समितिलाई भंग गर्दै अर्को समिति बनाएपछि विघठित समितिका संयोजक कुमार पन्तको समूह रुष्ट बनेको छ । पन्त नेतृत्वको समितिले संघको विधान अनुसारको काम गर्न नसकेको तथा विधान बमोजिम कार्यकाल सकिएको लामो समयसम्म निर्वाचन गराउन नसकेको लगायतका आरोपहरु लगाउँदै घलेले गरेको निर्णय मान्न नसकिने भनाई पन्त समूहको रहेको छ । संघको विधान २००३ को धारा १६ को १९४० अनुसार घलेले गरेको निर्वाचन समिति पुनर्गठन तथा महाधिवेशन आयोजक समिति गठनलाई लिएर एनआरएनएमा तीब्र विवाद भएको हो ।
घलेले हाल पुनर्गठन गरेको निर्वाचन समितिको प्रमुख निर्वाचन अधिकृतमा अमेरिकामा रहेका विश्व बराल रहेका छन् भने सदस्यहरुमा अष्ट्रेलियाबाट इन्द्रा बन, अमेरिकाबाट बासुदेव फुलारा, बेलायतबाट डमर घले, जर्मनीबाट पुष्प थापा, कतारबाट विमल सुबेदी र दक्षिण कोरियाबाट प्रकाश धमला रहेका छन् ।
यसअघिको समितिले यही मार्च २४ र २५ मा महाधिवेशन गर्ने घोषणा गरेको थियो । उक्त महाधिवेशनका लागि शुक्रबारका उम्मेदवारी मनोनयनको अन्तिम दिन तोकिएको भएता पनि अध्यक्षका प्रत्यासी कुल आचार्य पक्षले भाग नलिने देखिएपछि घलेले निर्वाचन समिति नै पुनर्गठन गरेको बुझिएको छ । पन्त नेतृत्वको समितिले २ दिनमा महाधिवेशनको कार्यक्रम सकाउँने गरी मिति तोकेको भएता पनि घलेले महाधिवेशनका लागि मार्च २२ देखि २५ सम्म चार दिनको अवधि तोकेका छन् ।
घलेले संघका उपाध्यक्ष सोनाम लामाको संयोजकत्वमा गठन गरेको समितिमा अर्का उपाध्यक्ष मन के।सी। सह–संयोजक तथा सबै एनसीसी अध्यक्षहरु, आइसीसीका पदाधिकारीहरु, क्षेत्रीय संयोजक तथा क्षेत्रीय उपसंयोजकहरु समितिका सदस्य तोकिएका छन् ।
घलेको कदमलाई कुनै व्यक्तिको एकतर्फी हर्कतको संज्ञा दिएको पन्त समूहले अर्को समूहको निर्णयलाई अस्वीकार गरेर आफूले तोकेको मितिमा महाधिवेशन गर्ने भन्ने र घले समूहले पनि पन्त समूहलाई अस्वीकार गरेर आफ्नो समूहको महाधिवेशन मिति तय गर्नाले एनआरएनए लगभग फूटको डिलमा पुगेको छ ।

