कोइराला र निधिको समर्थनमा देउवाको उमेद्धवार हराउदै धनुषा कांग्रेसमा पजियार निर्वाचित
विकास टाइम्स
प्रकाशित मिति : 12 March, 2022


काठमाडौं । नेपाली कांग्रेस धनुषा जिल्ला सभापतिमा योगेन्द्र पजियार निर्वाचित भएका छन् । दोस्रो चरणको मतदानमा सभापति शेरबहादुर देउवा समूहका सन्तोष यादवलाई पराजित गर्दै विमलेन्द्र निधी समूहका पजियार सभापतिमा निर्वाचित भएका हुन् ।
उनलाई डा .शेखर कोइराला समूहको समर्थन रहेको थियो ।गएराति आएको मतपरिणामअनुसार पजियारले यादवलाई ६ सय ८९ मतले पराजित गरेका हुन् । कूल खसेको २ हजार ८ सय १४ मतमध्ये पजियारले १ हजार ७ सय ३५ र यादवले १ हजार ४६ मत प्राप्त गरे । ३३ मत बदर भएको निर्वाचन अधिकृत अरुण ज्ञवालीले जानकारी दिए । ३ हजार १ सय ७३ मतदाता रहेकोमा दोस्रो चरणको निर्वाचनमा २ हजार ८ सय १४ मत खसेको थियो।पजियार धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाका मेयरसमेत हुन् ।
सोमबार भएको पहिलो चरणको निर्वाचनमा तीनमध्ये सभापतिका कुनै पनि प्रत्यासीले ५० प्रतिशत बढी मत ल्याउन नसकेपछि दोस्रो चरणमा पजियार र यादवबीच प्रतिस्पर्धा भएको हो ।
पहिलो चरणबाट डा। कोइराला पक्षका दिनेश प्रसैला तेस्रो भएपछि दोस्रो चरण प्रवेशबाट बाहिरिएका थिए । उनको पक्षले पजियारलाई समर्थन गरेसँगै पजियार विजयी भएका हुन् । पहिलो चरणमा नतिजा आउन नसकेपछि दोस्रो चरणका लागि शुक्रबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मतदान भएको थियो।

