नियमित उपचारले क्षयरोग निको हुन्छः मन्त्री यादव
विकास टाइम्स
प्रकाशित मिति : 24 March, 2022


काठमाडौं । प्रदेश नं १ का स्वास्थ्यमन्त्री जयराम यादवले प्रयोगशालाको प्रभावकारी जाँच र औषधि सेवनबाट क्षयरोग रोग निको हुने बताउनुभएको छ ।
विश्व क्षयरोग निवारण दिवसका अवसरमा स्वास्थ्य मन्त्रालय, विराटनगर महानगरपालिका, स्वास्थ्य निर्देशनालय र नेपाल क्षयरोग निवारण संस्थाद्वारा संयुक्तरूपमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले आसन्न स्थानीय तहको निर्वाचनका बेला घरदैलो कार्यक्रममा क्षयरोग, हात्तीपाइले रोग, आमा सुरक्षा र विभिन्न खोपका सम्बन्धमा स्पष्टरूपमा जनतालाई जानकारी गराउन आग्रह गर्नुभयो ।
मन्त्रालयका सचिव अनोज भट्टचन, स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेत, क्षयरोग चिकित्सक डा नारायण कुमार, क्षयरोग निवारण संस्था मोरङका अध्यक्ष शिवनारायण प्रधान, क्षयरोग निको भएका बिरामी युवराज भट्टराईले सरकारले क्षयरोगविरुद्धका औषधि निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको उल्लेख गर्दै नियमित उपचारले यो रोग निको हुने बताउनुभयो ।
यसअघि देवकोटा चोकस्थित मन्त्रालयबाट निस्केको प्रभातफेरी कार्यक्रमले नगरको विभिन्न भागको परिक्रमा गरी बुधहाट चोकमा आएर कोणसभामा परिणत भएको थियो ।
प्रभातफेरीमा स्वास्थ्यमन्त्री यादव, सचिव भट्टचनलगायत मन्त्रालय, स्वास्थ्य निर्देशनालय, प्रयोगशाला, महानगरपालिकाका कर्मचारी, विभिन्न स्वास्थ्य शिक्षा अध्यापन गराउने कलेज, विद्यालयका विद्यार्थीको उल्लेखनीय सहभागिता थियो ।
सोही दिवसका उपलक्ष्यमा आज क्षयरोगीका बिरामीलाई फलफूल वितरण र रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । प्रदेशमा आर्थिक वर्ष २०७७÷७८ मा तीन हजार ५५९ क्षयरोगका बिरामी पत्ता लागेको छ भने ७० प्रतिशत बिरामी पत्ता लगाउन नसकेको स्वास्थ्य निर्देशनालयका निर्देशक बस्नेतले बताउनुभयो ।
उहाँका अनुसार झापामा ९९२, मोरङमा ९६८ र सुनसरीमा ८८९ क्षयरोगका बिरामी देखिएको छ भने तेह्रथुम जिल्लामा सबैभन्दा कम २१ बिरामी फेला परेका छन् । विराटनगर महानगरपालिकामा ३०० क्षयरोगी रहेका छन्् ।

