Logo

प्रदेश अस्पताल कर्णालीले मिर्गाैला प्रत्यारोपण सेवा सुरु गर्ने

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रसँग बन्यो समझदारी



काठमाडौं । नेपालका ठूला भनिएका राजधानीका अस्पतालहरुले आँट गर्न नसकिरहेको अंग प्रत्यारोपण सेवा सञ्चालन गर्ने तयारी सुर्खेत वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश अस्पतालले गरेको छ ।


कर्णाली प्रदेश अस्पताल र भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबीच बिहीबार पाँच बुँदे समझदारी भएको छ । जसअनुसार प्रदेश हस्पतालले यसै आर्थिक वर्षभित्र सुर्खेतमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने भएको छ । प्रदेश अन्तर्गत गरेका विभिन्न अस्पतालहरुमा डाइलसिस सेवा विस्तार पनि हुने भएको छ । यो विशिष्ट सेवाका लागि प्रदेश अस्पताललाई शहीद धर्मभक्ता राष्ट्रिय प्रत्यारोपण केन्द्रले जनशक्ति तालिम, अध्यापन आदि व्यवस्थापन गर्ने छ ।


त्यस्तै मस्तिष्क मृत्युबाट हुने अंगदान र प्रत्यारोपण लगायतका कार्य प्रभावकारी बनाउने योजना तयार पार्ने, धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले मिर्गौला प्रत्यारोपण फेलोशिप, एम.सि.एच युरोलोजी, डि.एम। नेफ्रोलोजी , नर्सिङ विषयको स्नातक तथा स्नातकोत्तर तह लगायतको शैक्षिक कार्यक्रम सञ्चालन गर्न आवश्यक गृह कार्य गर्ने समझदारी पनि भएको छ ।


समझदारी पत्रमा प्रदेश अस्पतालको तर्फबाट प्रा.डा. डम्बर खड्का र धर्मभक्त केन्द्रको तर्फबाट डा. पुकार चन्द्र श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
नेपालमा वर्सेनि ३ हजार व्यक्तिको मिर्गौला फेल हुने गरेको छ भने १ हजार व्यक्तिको कलेजो फेल हुने गरेको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस्