Logo

राष्ट्रिय लोक दोहोरी प्रतियोगिता चैत्र १६ देखि १९ गतेसम्म हुँदै


काठमाडौं । राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नेपालले लोक दोहोरी गीत प्रतियोगिता गर्ने भएको छ । प्रतियोगिता ‘हाम्रो अभियान लोक संस्कृतिको संरक्षण, श्रष्टाको सम्मान, नवप्रतिभाको प्रोत्साहन’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको हो ।

भृकुटीमण्डप, काठमाण्डौंमा आयोजना हुने “छैठौं टुबोर्ग राष्ट्रिय रनिङ्ग शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता २०५८” मा देशैभरका ख्यातिप्राप्त गायक÷गायिका तथा कलाकारहरुको प्रस्तुति रहने छ । राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नेपाल २०५८ सालमा विधिवत दर्ता भइ लोक दोहोरीसँग आबद्ध कलाकारहरुको हकहितको लागि आवाज बुलन्द गर्दै आएको संस्था हो । यो संस्था अमर विरही गुरुङ संस्थापक अध्यक्ष रहेर स्थापना गरिएको ।

त्यसपछि क्रमशः प्रजापति पराजुली, दर्गा रायमाझी, पुरुषोत्तम न्यौपाने, चन्द्र शर्मा, बद्री पंगेनीहुँदै हाल रमेशी बि.जीको नेतृत्वसम्म आइपुग्दा संस्थाले दुई दशकको यात्रा तय गरिसकेको छ । संस्थाले आफ्ना सम्पूर्ण सदस्यहरुको पहल र शुभचिन्तक, सहयोगी मनहरुको विशेष सहयोगमा आफ्नै भवन बनाउन सफल भएको छ ।

त्यसैगरी सहकारी, कलाकार कल्याणकारी कोष, आकस्मिक कोष तथा अन्य कोषहरु स्थापना गरेको संस्थाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । यसरी विभिन्न कोषमा संकलित रकम कलाकारहरुलाई अप्ठेरो पर्दा सहयोग गरिने बताइएको छ । त्यस्तै नवप्रतिभा कलाकारहरुको खोजी गरी उनीहरुलाई विभिन्न प्रशिक्षण, क्षमता अभिवृद्धि तालिममा लगाउने पनि जनाइएको छ ।

त्यसैगरी संस्थाले लोप हुँदै गएका नेपाली लोकबाजाहरुको संरक्षणका लागि ‘लोकबाजा संग्रहालय’को स्थापना गर्ने उद्देश्यले यही चैत्र १६ देखि १९ गतेसम्म काठमाण्डौंको भृकुटीमण्डपमा “छैठौं टुबोर्ग राष्ट्रिय रनिङ्ग शिल्ड खुल्ला दोहोरीगीत प्रतियोगिता – २०७८” को आयोजना गरेको विज्ञप्तिमा उल्लेख छ । उक्त कार्यक्रममा देसैभरबाट झन्डै ७० समूहमा प्रतियोगीहरु सहभागी हुँदैछन् ।

कार्यक्रममा देसैभरका चर्चित कलाकारहरुको प्रस्तुति रहने छ । नेपाल सरकार अर्थ मन्त्रालयका अर्थ सचिव मधुकुमार मरासिनीको प्रमुख आतिथ्यतामा सम्पन्न हुने कार्यक्रममा विभिन्न सरकारी तथा गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहने छ । कार्यक्रमको विशेष आतिथ्यता नेपाली गीत संगीतका अग्रज श्रष्टा तथा कलाकारहरुको रहने छ ।

कार्यक्रमको मुख्य प्रायोजक गोरखा ब्रुअरी (टुबोर्ग बियर) रहेको छ भने सह–प्रायोजकको रुपमा महालक्ष्मी विकास बैंक लिमिटेड र श्री बागेश्वरी खड्का हाउजिङ्ग डेप्लोपर्स रहेको छ । युनिभर्सल टेलिभिजन एचडीबाट लाईभ प्रसारण हुने छ । सो प्रतियोगितामा प्रथम हुनेलाई रु. दुई लाख पचीस हजार नगद पुरस्कार, प्रमाणपत्र, मेडल र शिल्ड दिइने जनाइएको छ ।

त्यसैगरी दोस्रो स्थान हासिल गर्नेलाई रु. एक लाख ५० हजार नगद पुरस्कार, प्रमाणपत्र मेडल र शिल्ड, तेस्रो स्थान हासिल गर्नेलाई रु. एक लाख नगद पुृरस्कार, पत्रमाणपत्र , मेडल र शिल्ड दिइने छ । त्यस्तै सान्त्वना पुरस्कार रु. ५० हजार नगद पुरस्कार प्रमाणपत्र मेडल, शिल्ड, उत्कृष्ट २ पुरुष, २ महिला साथै उत्कृष्ट भेषभुषा र अनुशासित टिमलाई रु.१० हजार नगद, मेडल र प्रमाण पत्र प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ । कार्यक्रममा एक लाख हाराहारी दर्शक, स्रोता अवलोकनार्थ उपस्थित हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्