Logo

देवीरमण जेभीले बनाएको सिन्धुलीमाडी ग्वाङखोलाको पुल


सिन्धुली । बेमौसमी वर्षापछि सदरमुकाम सिन्धुलीमाडीको ग्वाङखोलामा आइतबार राति आएको बाढीले निर्माणको अन्तिम चरणमा रहेको पक्की पुल भत्काएको छ । कमलामाई नगरपालिका वडा नं ६ को माढीबजार पुछार र वडा नं ५ को कारागार क्षेत्र जोड्ने ३० मिटर लामो पक्की पुल ग्वाङखोलाको बाढीले भत्काएको हो ।

ढलानको तयारीमा रहेको पुलका सबै संरचना भत्काएको निर्माण कम्पनी जनाएको छ । खोलामा पानी निकासका लागि राखिएको सानो ह्यूम पाइप पर्याप्त नहुँदा बाढीले पुलका संरचना भत्काएको हो । पुल भत्कँदा करिब तीन करोडको क्षति भएको आंकलन निर्माण कम्पनी देवीरमण जेभीका प्राविधिकले गरेका छन् ।

आइतबार दिनभर मौसम सामान्य नै थियो, जेभीका प्रोजेक्ट म्यानेजर कुमार रिजालले भने, ‘वर्षा लागकै थिएन, चैत्र महिनामा नै यति ठूलो बाढी आउला भनेर आकलन नगर्दा ठूलो क्षति भयो ।’ तीन दिनपछि पुल ढलानका लागि सबै तयारी पूरा हुन लागेको रिजालले बताए । वाग्मती प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालयको लगानीमा दुई वर्षअघि निर्माण सुरु भएको पुलको लागत पाँच करोड ४१ लाख रहेको छ ।

प्रतिक्रिया दिनुहोस्