Logo

एमाले धनकुटाका नेता विश्वकर्माको निधन


नेकपा एमालेका जिल्ला नेता भोजबहादुर विश्वकर्मा ४० वर्षको उमेरमा सोमबार बिहान निधन भएको छ । उनी एमाले जिल्ला कमिटी सदस्य तथा छथरजोरपाटी गाउँ कमिटी सह–इन्चार्ज थिए । दलित आन्दोलनका अभियन्तासमेत रहेका विश्वकर्माको बिहान ४ बजेर ४० मिनेटमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा निधन भएको स्रोतले जनाएको छ ।

केही महिना पहिले उनलाई जन्डिसका कारण स्वास्थ्य समस्या देखिएको थियो । पछिल्लो समय सामान्य अवस्थामा रहेका विश्वकर्मामा अकस्मात स्वास्थ्य समस्या बिग्रिएपछि उपचारका लागि धरान लगिएको थियो । विश्वकर्मा चार दिन पहिले काठमाडौंमा आयोजित नेपाल उत्पीडित जातीय मुक्ति समाजको महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।

विश्वकर्माको निधनमा एमाले धनकुटाले एक दिन पार्टी कार्यालय बन्द र झन्डा आधा झुकाउने विज्ञप्तिमार्फत जानकारी दिइएको छ । जिल्लाका औपचारिक कार्यक्रमसमेत स्थगित गरिएको एमाले जिल्ला अध्यक्ष इन्द्रमणि पराजुलीमार्फत हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । विश्वकर्माको पार्थिव शरीरलाई बिहान ११ बजे एमाले पार्टी कार्यालयमा श्रद्धाञ्जलीको लागि राखिएको थियो ।

छथर जोरपाटी–४ पुर्ख्यौली घर रहेका विश्वकर्मा हाल धनकुटा–५ देवानटारमा बसोबास गर्दै आएका थिए । उनको सोमबार दिउँसो मूलघाटस्थित तमोर नदीमा अन्त्यष्टि गरिने छ । विश्वकर्माका एक छोरा र श्रीमती छन् ।

प्रतिक्रिया दिनुहोस्