Logo

अर्थमन्त्रीलाई गभर्नरको सुझाव पत्र, साताको २ दिन विदा दिनुपर्ने


नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री जनार्दन शर्मालाई एक पत्र लेख्दै अर्थतन्त्रमा हाल देखिएको समस्या समाधानका उपायहरुको विषयमा सुझाव दिएका छन् । चैत १६ गतेको मितिमा गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री शर्मालाई सम्बोधन गर्दै तीव्र दवाबमा रहेको अर्थतन्त्रको बाह्य अवस्थालाई ट्रयाकमा ल्याउन १५ बुँदे लिखित सुझाव पेश गरेका हुन् ।

अर्थतन्त्रको बाह्य क्षेत्रमा संकटको कालो बादल मडारिएसँगै समस्या समाधानका लागि गभर्नर अधिकारीले अर्थसचिवको अनुरोधपछि लिखित सुझाव दिएका हुन् । पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यसले विदेशी मुद्रा सञ्चितीमा दवाब परेको, उच्च आयात नरोकिँदा शोधानान्तर घाटा कहालीलाग्दो शैलीमा बढ्न थालेको, रेमिटान्स घटेपछि यसले विदेशी मुद्रा सञ्चितीमा अर्को नकारात्मक प्रभाव परेको र पर्यटनमा पनि अपेक्षित सुधार हुन नसकेपछि अर्थतन्त्र समस्यामा परेको निश्कर्ष निकाल्दै तत्काल चाल्नुपर्ने कदमहरुको विषयमा गभर्नरले १५ वटा बुँदा तयार गरी अर्थमन्त्रालय पठाएका हुन् ।

गभर्नरले पेट्रोलियम पदार्थको खपत घटाउने उद्देश्यले काठमाडौं लगायतका देशका प्रमुख शहरहरुको निजी सवारीमा जोरविजोर प्रणाली लागूदेखि काठमाडौं उपत्यकामा शनिवार र आइतबार गरी सातामा २ दिन सार्वजनिक विदा दिने व्यवस्थाको सुरुवात लगायतका सुझाव समावेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्