Logo

भक्तपुर औद्योगिक मेला : डेढ करोडको कारोबार


काठमाडौं । नयाँ वर्ष २०७९ का अवसरमा भक्तपुरको सल्लाघारीमा औद्योगिक तथा व्यापार मेला लागेको छ । मेलाको पाँचौँ दिनमा रु एक करोड ५० लाखको कारोबार भएको छ ।

मेलामा कारोबार बढ्दै गएको औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दीप महतले जानकारी दिनुभयो । दैनिक उपभोग्य सामग्री, लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामग्री, नयाँ तथा पुराना सवारीसाधन खरिदमा उपभोक्ताको आकर्षण रहेको छ ।

मेलामा फेशन तथा नृत्य, औद्योगिक उत्पादनको प्रदर्शनी, सूचना तथा विज्ञान प्रविधिको प्रदर्शनी, ग्रामीण प्रविधिसम्बन्धी गतिविधि, अटो मोबाइल प्रदर्शनी, विद्युतीय मेशिन, कृषि औजार प्रदर्शनीलगायत रहेको मेला संयोजक दीपक थापाले जानकारी दिनुभयो । मेलामा विद्यार्थीलाई रु ४० र अन्यलाई रु ५० प्रवेश शुल्क निर्धारण गरिएको छ ।

यही चैत २४ देखि सुरु भएको उक्त मेला आगामी वैशाख ४ गतेसम्म चल्ने छ । मेलामा २०० भन्दा बढी कक्ष राखिएका छन् । मेलामा रु आठ करोड बराबरको कारोबार हुने आयोजकको अनुमान छ । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज व्याण्डले मेला आयोजना गरेको हो ।

प्रतिक्रिया दिनुहोस्