Logo

प्रचार सामाग्रीमा आफ्नो फोटो राखिएकोमा कुलमानको आपत्ती


सत्तारुढ नेकपा माओवादी केन्द्रले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्वीर राखेर चुनावी प्रचार सामग्री बनाएको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आधिकारिक फेसबुक पेजबाट सार्वजनिक भएको चुनावी पोष्टरमा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको पनि तस्वीर राखिएको हो ।

अध्यक्ष प्रचण्ड र अर्थमन्त्री जनार्दन शर्मासँगै माओवादीले घिसिङको तस्वीर राखेर ‘अध्याँरोबाट उज्यालोतर्फ’ उल्लेख गर्दै चुनावी पोष्टर सार्वजनिक गरेको हो । ‘लाेडसेडिङ अन्त्य एउटा फड्काे, अब पालाे निशुल्क बिजुलीकाे’ उक्त पाेष्टमा लेखिएकाे छ ।

निर्वाचन आचारसंहिता २०७८ मा भने सरकारी कर्मचारीले कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन रोक लगाइएको छ । प्रचार सामाग्रीमा आफ्नो फोटो राखिएबारे कार्यकारी निर्देशक घिसिङले भने आफ्नो सहमतिबिना तस्बिर राखिएको प्रतिक्रिया दिएका छन् । ‘मेरो तस्बिर नराख्नु भनेको थिएँ । मेरो सहमतिविपरीत उहाँहरूले तस्बिर राख्नु भएछ । त्यसमा मेरो विमति छ,’ घिसिङले विकास टाइम्सलाई बताए । यसअघि माओवादीले आफ्ना चुनावी प्रचार सामग्री अध्यक्ष दाहालका साथै माओ,लेनिनलगायतका तस्बिर राखे पनि यस पटक भने विद्युत प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङसमेतको तस्बिर राखेको हो ।

प्रतिक्रिया दिनुहोस्