Logo

स्थानीय तह चुनाव : ललितपुर कांग्रेसमा आधादर्जन बढी आकांक्षी


ललितपुर महानगरपालिकाको मेयरमा नेपाली काँग्रेसबाट ८ जनाले आकांक्षा देखाएका छन् । महानगरपालिकाका वर्तमान मेयर चिरिबाबु महर्जन, वर्तमान उपमेयर गीता सत्यालसहित ८ जनाले मेयरमा र उपमेयरमा ५ जनाको नाम सिफारिस भएको ललितपुर जिल्ला सभापति जीतेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

त्यस्तै, अन्य मेयरका लागि प्रेमकृष्ण महर्जन, अनन्त श्रेष्ठ, चन्द्र महर्जन, शिवानन्द धाख्वा, भरतलाल न्याछ्यु, राजेश महर्जनको नाम सिफारिस भएको श्रेष्ठले जानकारी दिए ।  त्यसैगरी, उपमेयरमा रामकुमारी लिम्बु, भगवती शाही, मोद्वती केसी, फरिन्दा महर्जन, प्रविना शर्माको नाम सिफारिस भएको छ । यद्यपि केन्द्रले मौखिक रुपमा आकांक्षीहरुको सिफारिस केही समय होल्ड गर्न भनेकाले आकांक्षीहरु अझै बढ्ने सभापतिले बताए ।

कसलाई सिफारिस गर्ने भन्ने निर्णय यदि केन्द्रले गर्ने हो भने ३ देखि ४ जनाको मात्र नाम सिफारिस गर्नुपर्ने कुरा आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै त्यसको तयारीको लागि जिल्ला कार्यसमिति मै छलफल भइरहेको श्रेष्ठले बताए । आकांक्षीहरुको नाम कार्यसमितिले सिफारिस गरेर पठाउँछ । उनी भन्छन्, ‘आकांक्षी साथीहरुको सबैको नाम पठाउने वातावरण बन्दैछ । तर केन्द्रले मेयरबाहेक अन्य तहका नाम जिल्ला कार्यसमितिमार्फत निर्णय गर भन्यो भने यहीबाट निर्णय हुन्छ । हालसम्म सिफारिस भएकाहरु मध्येबाटै टिकट पाउने सम्भावना धेरै छ ।’

प्रतिक्रिया दिनुहोस्