Logo

म गठबन्धनको पक्षमा छैन, पार्टीको निर्णयमात्र मानेको हुँ – गगन थापा


नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तह निर्वाचनमा गठबन्धनमा रहेका दलहरूको स्थानीय पार्टी कमिटीमा सहमति जुट्न नसके सो ठाउँमा तालमेल नहुने बताएका छन् । आज नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नम्बर ८ ले नववर्ष २०७९ सालको अवसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा महामन्त्री थापाले स्थानीय निर्वाचनमा तालमेल गर्ने अधिकार स्थानीय पार्टी कमिटीलाई भएको बताए ।

उनले गठबन्धनका दलहरूका बीचमा देशभरी छलफल चलिरहेको उल्लेख गर्दै स्थानीयस्तरमा कुरा मिलेमा मात्रै तालमेल हुने अन्यथा आ–आफू निर्वाचन लड्ने बताए । स्थानीय पार्टी कमिटीले तालमेल नगर्ने भनेमा माथिल्लो तहले तालमेलको निर्णय नथोपर्ने उनले स्पष्ट पारे ।

महामन्त्री थापाले व्यक्तिगत रूपमा आफू तालमेलको पक्षमा नरहेको भए पनि पार्टीले गरेको निर्णय मानेको पनि बताए । उनले राजनीतिमा गठबन्धनको संस्कृति लोकतन्त्रको दीर्घकालीन हितमा छ कि छैन भन्ने विषयमा भने उचित समयमा छलफल गर्नुपर्ने आवश्यकता रहेको बताए ।

‘यो गठबन्धन, तालमेल नेपालको राजनीतिक संस्कृतिको लागि हितकर छँदै छैन । तर, पार्टीको बहुसंख्यक साथीहरूले तालमेल गरेर जानुपर्छ भन्ने निर्णय गरिसकेपछाडि पार्टीको त्यो निर्णयलाई मानेको छु, मान्नुपर्छ । पार्टीमा आबद्ध भइसकेपछि परिवार भन्याजस्तै हो यो । परिवारमा बुबा, आमा, छोरा, छोरी, श्रीमान्, श्रीमती हुँदै गर्दा यता घुम्न जाउँ भन्ने मत हुन्छ । यो वर्ष यसमा खर्च गरौँ भन्ने मत हुन्छ । आफ्नो मतमा अरुलाई मनाउने कोसिस गर्छौँ । मानेनौँ भने कहिलेकाहीँ परिवारको एउटा निर्णयलाई हामी मानेर हिड्छौँ । पार्टीको सन्दर्भमा पनि यही कुरा हुने हो । तर मलाई यो भनिरहँदै गर्दा फेरि पनि के लाग्छ भने हामीले यसका बारेमा, नेपालको लोकतन्त्रको दिर्घकालीन हितमा छ कि छैन भनेर यो विषयका बारेमा एउटा उचित समयमा छलफल गर्नैपर्छ । बहस गर्नैपर्छ ।’ 

प्रतिक्रिया दिनुहोस्