Logo

मिना ढकाललाई कांग्रेस चाहिएको होइन, कांग्रेसलाई मिनाको आवश्यकता छ : ढकाल


मिना ढकाल, नेता नेपाली कांग्रेस, सूर्यविनायक, भक्तपुर

नेविसंघबाट पार्टी राजनीतिमा उदीयमान नेतृ हुन् मिना ढकाल । मोरङमा नन्मिहुर्की गरेकी ढकालको अध्यायन र राजनीतिक गतिविधिपनि मोरङबाटै सुरु भएको हो । नेविसंघको विभिन्न पदमा रहेर राजनीतिक यात्रा तय गरेकी ढकाल कर्तव्यनिष्ठ नेता र स्पष्ट वक्ताको रुपमा चिनिन्छिन् । जनताका समस्यामा सधैं आवाज बुलन्द गर्ने उनी महिलाको समस्या मुखरित नभएकोप्रति चिन्तित छन् । समाजसेवामा दत्तचित्त ढकालसँग स्थानीय निकाय निर्वाचिनसँग केन्द्रि रहेर कालिका महतले गरेको कुराकानीको सम्पादित अंश :

यहाँको राजनीतिक यात्राको बारे बताइदिनुस् न ?
मेरो राजनीतिक यात्रा चाहिं २०४६ सालबाट सुरु भएको हो । त्यसअघि तीज, तिहार, स्कूलका सांस्कृतिक कार्यक्रममा नाच्ने, गाउने गरिन्थ्यो । त्यसपछि वामपन्थी राजनीतिसँग सम्बन्धित जनसांस्कृतिक कार्यक्रमहरुमा नाच्ने, गाउने काम गर्दथेँ । त्यतिबेला वामपन्थीसँग नजिक रहेर त्यस्ता क्रान्तिकारी गीतमा नाच्ने, गाउने गर्दा पुलिसले पक्रन्छ रे भन्थे ।

२०४७ सालपछि जिल्लाबाट विभिन्न राजनीतिक आस्था बोकेर दाइ, दिदीहरु स्कूल, कलेजमा कमिटी आउनुभयो । २०४८ सालपछि साविक इन्द्रपुर गाविस मोरङमा नेविसंघ ग्राम इकाइको उपाध्यक्ष पदमा रहेर काम गरेँ । त्यसपछि सुकुना बहुमुखी क्याम्पसमा आइए पढ्दै गर्दा हामीले विद्यार्थी कमिटी गठन ग¥यौं । इकाइ कमिटि गठन गर्दा कोषध्यक्षको जिम्मेवारी लिएर काम गरेँ । स्ववियुको चुनाव म नेविसंघको तर्फबाट उपाध्यक्षमा चुनाव लडेकी थिएँ ।

त्यो ठाउँ अहिलेपनि एमालेको गढ हो । त्यतिबेला पनि उनीहरुकै पकड थियो । एमालेहरु त्यतिबेला उच्छृङ्खल, अराजक प्रवृत्तिका थिए । जसरी एकताका माओवादी भनेपछि मान्छेले उच्छृङ्खल, अराजक भन्थे । त्यसबेला एमाले पनि त्यस्तै थियो । मैले नेविसंघको तर्फबाट यो सुकुना गाविसलाई एमालेको गढ हो । अब हामीले यसलाई कांग्रेसमय बनाउनुपर्छ भनेर मैले भाषण गर्ने क्रममा एमालेका साथीहरुले च्याप समातेर अनेरास्ववियुको कार्यालयमा थेने । हामी तीनजनालाई थुनेका थिए, त्यसको प्रमुख म थिएँ । पछि वार्तामा कुरा मिलेपछि हामीलाई छोडिदिए ।

त्यतिबेला कति वर्षकी हुनुहुन्थ्यो ?
त्यसबेला म त्यस्तै १६, १७ वर्षकी थिएँ । मैले २०४८ सालमा एसएलसी दिएकी हुँ । हाम्रो घरपरिवार पनि कांग्रेस नै थियो । २०४८ निर्वाचनमा जिल्लाबाट आउने कांग्रेस नेता, कार्यकर्ताले हाम्रो घरलाई केन्द्र बनाउनुहुन्थ्यो । मेरो बुबाले नेपाली कांग्रेसको पक्षमा गीत लेख्नुहुन्थ्यो । हामी त्यसलाई मञ्चमा लगेर गाउने गर्दथ्यौं । चुनावमा प्रचारप्रसार लगायतका गतिविधिमा लागियो । त्यसपछि नेविसंघकै प्ल्याटफर्म र मञ्चमा मैले दुईवटा नाटक पनि खेलेँ । ‘एउटा साथी र चितामाथिको लास’ नामक कांग्रेसपक्षमा जनमत जुटाउने जनचेतनामूलक दुईवटा नाटक खेलेकी थिएँ । त्यो नेविसंघले आयोजना गरेको चेतनामूलक नाटक थियो । विभिन्न हलहरुमा टिकट सो नै गरेर नाटक आयोजना गरिएको थियो ।

काठमाडौं चाहीं कति वर्षको उमेरतिर छिर्नुभयो ?
म १७, १८ वर्षको उमेरमै काठमाडौं आएँ । त्यसपछि २०५४ सालमा स्थानीय चुनाव भयो । त्यसबेला मतदाता परिचयपत्र बनाउन विराटनगर गएँ । त्यतिबेला गणेशमान, किसुनजी र गिरिजाप्रसाद कोइराला चुनाव प्रचारप्रसारको लागि विरानगर जानुभएको थियो । उहाँहरु चुनाव प्रचारमा हिड्दा मेरो स्वर कमाण्डिङ भएकाले नारा लगाउन अगाडि सरिहाल्थेँ ।

२०५३ सालमै मेरो विवाह भइसकेको थियो । २०५४ सालमा छोरो जन्मियो । राजनीतिक आस्थाले फरक विचारधाराको मान्छेसँग मेरो विवाह भएको थियो । २०५४ सालको चुनावमा कांग्रेसको चुनाव प्रचारप्रसारमा हिँडेपनि घरायसी दबाबका कारण फरक पार्टीलाई भोट दिनुपर्ने वाध्यता थियो । श्रीमान्का कारण राजनीति आस्था पनि फरक भयो । अनि २०५५ सालदेखि २०७४ साल भन्नाले करिब २० वर्षसम्म म पार्टी राजनीतिमा निष्क्रिय रहेँ ।

किन निष्क्रिय भएँ भने आफ्नो मनमा कांग्रेस छ । घरायसी दबाबका कारण अर्को पार्टीलाई समर्थन गर्नुपर्ने भएकाले निष्क्रिय भएँ । अर्को राजनीतिक दलले ‘कालो कांग्रेस’ भन्दा नजाती लाग्थ्यो । कतिपय चुनावमा घरायसी दबाबका कारण अर्को पार्टीलाई भोट दिन वाध्य पनि भइयो । त्यसताका मलाई घरबाट एमालेको महिला संगठनमा आबद्ध हुन दबाब आयो । मैले त्यसलाई चासो दिइँन । श्रीमानको दबाबका कारण एमालेका कार्यक्रममा गएर शीर्ष नेताहरुको भाषण पनि सुन्ने गर्दथेँ ।’

२० वर्षसम्म निष्क्रिय रहनुभयो, एक्कासी कांग्रेस राजनीतिमा सक्रिय हुने जाँगर कहाँबाट पलायो ?
जब २०७४ सालबाट श्रीमान्सँग मेरो सम्बन्ध टुटिसकेपछि सामान्य व्यवसाय गरेर बसिरहेकी थिएँ । स्ट्रङ्ग बोल्ने मान्छे निष्क्रिय भएपछि साथीहरुले उर्जा दिनुभयो । नेपाली समाजमा जतिसुकै टाठोबाटो भएपनि मलाई होच्याउने, दबाउने कार्य हुन्छ । त्यतिबेला अतिकति बढी बोल्यो भने पनि पोथी बाँसेको भनिन्थ्यो ।

त्यसबेला सकारात्मक सोच भएका मेरो शुभचिन्तक, समर्थकहरु सक्रिय राजनीतिमा आउन प्रेरित गर्नुभयो । त्यो कुरा ठिकै हो, मेरो राजनीति ब्याग्राउण्ड नेपाली कांग्रेस नै हो भन्ने भयो । त्यसबीचमा विभिन्न सामाजिक काममा पनि आबद्ध भएँ । धेरै शुभचिन्तक महिला दिदी, बहिनीहरुले तपाईं जत्तिको मान्छे सक्रिय राजनीतिमा आउनुपर्छ भन्नुभयो । त्यतिबेलासम्म मेरो नेपाली कांग्रेसको क्रियाशील सदस्यता थिएन । त्यो नभइकन कसरी सक्रिय हुने भन्ने भयो । फेरि अन्य वामपन्थी पार्टी जस्तो पार्टीमा आउनेबित्तिकै ठाउँ पाइहाल्ने हुँदैन । यसका आफ्नै मूल्य, मान्यता र सिद्धान्तहरु छन् ।

कांग्रेस राजनीतिमा सक्रिय हुने अवसर कसरी जुट्यो ?
जब म काठमाडौंबाट भक्तपुरको सूर्यविनाय नगरपालिकामा सरिसकेकी थिएँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनताका झन्डै ५ लाख हाराहारी क्रियाशील सदस्यता वितरण गर्ने घोषणा अनि मैले पनि भक्तपुरको सूर्यविनायकबाट क्रियाशील सदस्यता लिएँ । त्यसपछि यस नगरका साथीहरुले मलाई क्षेत्रीय प्रतिनिधिमा चयन गर्नुभयो । यसरी म पुनः नेपाली कांग्रेसको सक्रिय राजनीतिमा हात हालेकी हुँ ।

आगामी स्थानीय निर्वाचनमा कुन पदमा उठ्दै हुनुहुन्छ ?
आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनमा म सूर्यविनायक नगरपालिकाको उपमेयरमा उठ्दै छु । मेरो उम्मेदवारी नेपाली कांग्रेसकोतर्पmबाट हुन्छ ।

नेपाली कांग्रेसले तपाईं टिकट दिन्छ त ?
दिनुपर्ने हो । किन भने मिना ढकाललाई नेपाली कांग्रेस चाहिएको भन्दा पनि नेपाली कांग्रेसलाई चाहीं मिना ढकाल चाहिनुपर्ने हो ।

तपार्इंलाई कांग्रेसले टिकट दिइहाल्नुपर्ने आधार के ?
अहिलेको अवस्था म महिला तथा युवाहरुको आकर्षणको केन्द्र हुँ । मेरा हरेक क्रियाकलाप सामाजिक सञ्जालमार्पmत यहाँका नागरिकहरुले नियालिरहनुभएको छ । ती सञ्जालमार्पmत सधैं महिलाका पीडा, युवा वर्गको आवश्यकतासँग जोडिएर वकालत गरिरहेको हुन्छु । अहिले टेक्नोलजीको जमाना हो । त्यसमा म पोख्त छु । जसबाट सधैं समाजका हरेक तह, तप्का, वर्ग, समुदायमा खड्किएका विषयमा आवाज बुलन्द गरिरहेको हुन्छु ।

मसँग २१ देखि ६०, ७० वर्षसम्मका नागरिकहरु नजिकबाट जोडिनुभएको छ । अहिलेका भोटरहरुले नयाँ अनुहार पनि खोजेका हुन्छन् । फेरि मसँग नयाँ अनुहार मात्रै होइन सोच, भिजन पनि छ । जुन उहाँका जल्दाबल्दा समस्यासँग जोडिएका छन् । अहिलेको समाजले फरकपन खोजिरहेको छ, त्यो मिना ढकाल हो । नचिनेको अनुहारलाई उम्मेदवार बनाउँदा कसलाई भोट दिने भन्ने हुन्छ । तर, सधैं नजिकबाट चिनिरहेको अनुहार हुँदा ‘ए तपाईं पो हो’ भन्ने फरक खालको चुनावी माहोल हुन्छ । त्यसकारण पनि मेरो उम्मेदवारी अहिलेको आवश्यकता हो ।

तपाईंले चाहीं चुनाव जितिहाल्ने त्यस्तो अलौकिक क्षेमता के छ ?
अहिलेका युवामा राजनीति विदृष्षणा जागेको छ । त्यसरी राजनीतिबाट टाढिएको युवा वर्गलाई राजनीति खराब चिज होइन । यसलाई चलाउने व्यक्ति खराब हुन सक्छन् । त्यसैले सही व्यक्ति छान्नुहोस् भनेर उहाँहरुलाई म सम्झाउन सक्छु । जो राजनीतिबाट टाढा रहनुभएका खेतीकिसानी, घरायसी कामकाज र पेशा व्यवसायमा मात्रै केन्द्रित भएर निष्क्रिय रहनुभएका महिलाहरुलाई पनि इन्करेज गर्न सक्छु ।

नेपालमा सम्भावनै नदेखेर विदेश पलायन हुने युवाहरुलाई के भन्न चाहनुहुन्छ ?
कांग्रेसको घोषणापत्रमा के के छ मलाई थाहा छैन । तर, विदेश पलायन भएका युवा जनशक्तिलाई देश फर्क अभियानमा नेपाली कांग्रेस लाग्नुपर्छ । ती जनशक्तिलाई स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्छ । यदि मलाई कांग्रेसले टिकट दियो र मैले चुनाव जितेँ भने सूर्यविनायक नगरपालिकाबाट त्यो अभियान थालिहाल्छु । साथै देशैभरबाट विदेशिएका दक्ष जनशक्ति स्वदेश फर्काउ अभियानलाई कांग्रेसले देशभर चलाउनुपर्छ । जसरी कक्षा १२ पास भएपछि देशमा सम्भावना नदेखेर विदेशिने ट्रेन बसेको छ । त्यसलाई स्वदेशमै उचित शिक्षादिक्षा र रोजगारीको सिर्जना गरी राक्नुपर्छ । सीपमुलक र स्वरोजगारमुखी शिक्षालाई जोड दिनुपर्छ ।

नेताहरुले ‘समृद्ध नेपाल, सुखी नेपाली’ भनिरहँदा त्यसको अनुभूति जनताले गरेको पाउनुभएको छ ?
त्यो कुरा नारामा मात्रै सीमित छ । कोरोना कहरबाट विश्वनै आक्रन्त हुँदा पनि कहिले शान्त होला र भिसा लगाएर विदेशिनु भएनेर युवाहरु खुट्टा उचालिरहेको पाइयो । एयरपोर्ट खुल्लासाथ भिडामभिड गरेर बाहिरिइरहेका छन् । फ्री भिसा, फ्री टिकेट भएको खाडी मुलुकमा २, ३ सम्म खर्च गरेर युवाहरु दिनप्रतिदिन गइरहेका छन् । जबसम्म देशका जनशक्ति विदेश पलायनको ट्रेन रोकिँदैन । तबसम्म ‘समृद्ध नेपाल, सुखी नेपाली’ शब्दमा मात्रै सीमित हुन्छ । त्यसको अनुभूति जनताले पटक्कै गर्न पाएका छैनन् ।

नयाँ अनुहार त हुनुभयो तर बाहिरबाट आएको मान्छेले कसरी चुनाव जित्नुहुन्छ ?
मैले चुनाव जित्ने मुख्य आधार भनेको पछिल्लो समय पूर्वी नेपाललगायत धेरै माइग्रेट भएर सूर्यविनायक नगरपालिकामा बसोबास गर्नुभएको छ । उहाँहरु जुनसुकै विचारधाराका भएपनि मलाई मतदान गर्नुहुन्छ भन्नेमा विश्वस्त छु । अर्को यहाँ परापूर्वकालदेखि बसोबास गर्ने समुदायसँग पनि म नजिकबाट चिरपरिचित छु । त्यसपछि मैले पहिलापनि भनिसकेको छु । यहाँका जन्दाबन्दा समस्यालाई मैले नजिकबाट नियालिरहेको छु । म निर्वाचित भएर खाएको खण्डमा त्यसको तुरुन्त त्यसको सम्वोधन गर्नेछु । त्यसैगरी सबै तह, तप्का, वर्ग समुदायको समस्या समाधानका लागि सधैं आवाज बुलन्द गर्न सक्षम छु भन्ने यहाँका नागरिक जानकार छन् ।

प्रतिक्रिया दिनुहोस्