Logo

मुस्ताङका छ वडामा एकल उम्मेदवारी


काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत मुस्ताङको छवटा वडामा एकल उम्मेदवारी परेको छ । लोघेकर दामोदरकुण्ड र घरपझोङ गाउँपालिकाको तीन–तीन वटा वडामा निर्विरोध भएको जनाइएको छ।

लोघेकर दामोदरकुण्डका निर्वाचन अधिकृत नेपालहरि रानाभाटले १, ३ र ४ वडामा एकल उम्मेदवारी दर्ता भएको बताउनुभयो । वडा नं १ को अध्यक्षमा नेकपा ९एमाले०का उम्मेदवार टसीढिन्डु ठकुरीसहित चार वडा सदस्यको एकल उम्मेदवारी परेको छ । वडा नं ३ को अध्यक्षमा एमालेका झ्याब्याङ तेञ्जिङ गुरुङसहित दुई सदस्य र नेपाली कांग्रेसबाट एक सदस्य निर्विरोध भएका छन् । वडा नंं ४ को वडाध्यक्षमा एमालेका झियानछुसाङ गुरुङको मात्र उम्मेदवारी दर्ता भएको छ ।

लोघेकरको वडा नं २ र ५ मा कांग्रेस र एमालेले सबै पदमा मनोनयन दर्ता गरेका छन् । चारवटा वडामा दलित महिला सदस्यमा उम्मेदवारी परेको छैन । घरपझोङ गाउँपालिका–१ मा कांग्रेसका आशबहादुर थकाली र २ मा कांग्रेसका मानबहादुर हिराचनको एकल उम्मेदवारी परेको छ ।

घरपझोङको वडा नं ५ मा एमालेका प्रदीप थकालीको एकल उम्मेदवारी परेको छ । निर्वाचन आयोगले दाबी–विरोधलगायत प्रक्रिया पूरा भएपछि मात्र एकल उम्मेदवारी परेको ठाउँमा निर्विरोध घोषणा गर्ने जनाएको छ । घरपझोङको १, २ र ५ मा कांग्रेस, एमाले, नेकपा ९माओवादी केन्द्र०, नेकपा ९एकीकृत समाजवादी० र राप्रपाबीच तालमेल भएको हो ।

माओवादीका उम्मेदवार निर्विरोध

म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाको वडा सदस्यमा नेकपा ९माओवादी केन्द्र०का एक वडा सदस्य निर्विरोध हुनुभएको छ । माओवादी केन्द्रका वडा कमिटी अध्यक्षसमेत रहनुकी सीताकुमारी छन्त्याल महिला वडा सदस्यमा निर्विरोध हुनुभएको हो । धवलागिरी गाउँपालिकाको सहायक निर्वाचन अधिकृत पूर्णबहादुर खत्रीले १ नं वडाको महिला सदस्य पदमा छन्त्यालको मात्र एकल उम्मेदवारी परेकाले निर्विरोध भएको बताउनुभयो ।

छन्त्याल निर्विरोध भएसँगै माओवादीले स्थानीय तह चुनावमा मतदान नहँुदै म्याग्दीमा खाता खोलेको छ । छन्त्याल निर्विरोध हुने जिल्लाको एक मात्र उम्मेदवार बन्नुभएको छ । धवलागिरिको स्थानीय तह निर्वाचनका लागि ३७ पदमा ८९ जनाको उम्मेदवारी परेको छ । मुनास्थित निर्वाचन अधिकृतको कार्यालयमा सोमबार राति ११ बजेसम्म मनोनयन दर्ता गरिएको थियो । गाउँपालिका अध्यक्षमा पाँच, उपाध्यक्षमा तीन, वडाध्यक्षमा २० र वडा सदस्यमा ५३ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत भोलाराज रेग्मीले बताउनुभयो ।

गाउँपालिका अध्यक्षमा एमालेका थमसरा पुन, कांग्रेसका प्रेमप्रसाद पुन, नेकपा ९एकीकृत समाजवादी०का बमबहादुर पाइजा, राप्रपाका होमबहादुर थापा र नेशनल मङ्गोल अर्गनाइजेशनका सकबहादुर पुन मगरले मनोनयन दर्ता गर्नुभएको छ । उपाध्यक्षमा एमालेका प्रगति कार्की, नेकपा ९माओवादी केन्द्र०का रेशम पुन र मङ्गोल नेशनल अर्गनाइजेशनका खममाया रोकाको मनोनयन दर्ता भएको छ । थमसरा पुन एमालेबाट दोस्रोपटक धवलागिरिको अध्यक्षमा उम्मेदवार बन्नुभएको हो । एमालेका जिल्ला उपसचिवसमेत रहेकी पुन गत स्थानीय तह चुनावमा पनि एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

धवलागिरिमा कांग्रेस र माओवादीले वडा तहसम्मनै तालमेल गरेका छन् । गठबन्धनको तर्फबाट गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका प्रेमप्रसाद पुन कांग्रेसको धवलागिरि गाउँपालिका सभापति हुनुहन्छ । गाउँपालिका अध्यक्षमा एमालेबाट आकाङ्क्षी रहेका होमबहादुर थापाले राप्रपाबाट टिकट लिएर अध्यक्षमा उम्मेदवारी दर्ता गराउनुभएको छ । थापा गत पुसमा भएको एमालेको पालिका अधिवेशनबाट धवलागिरि गाउँपालिका कमिटीको अध्यक्षमा निर्वाचित हुनुभएको थियो । एमालेले धवलागिरिको अध्यक्षमा पुन र उपाध्यक्षमा कार्कीलाई सोमबार बिहान मात्र उम्मेदवार छनोट गरेको थियो । उम्मेदवार छनोटमा असन्तुष्टि जनाउँदै थापा राप्रपा प्रवेश गरेर अध्यक्षको उम्मेदवार बन्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्