Logo

भरतपुरमा रेनुको झनै बलियो ‘कमब्याक’


चितवनको भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनले शानदार विजय हासिल गरेको छ । मेयर र उपमेयरसहित बहुमत वडा जित्दै सत्ता गठबन्धनले शानदार विजय निकालेको हो ।

मेयरकी उम्मेदवार रेनु दाहालले एमाले–राप्रपा गठबन्धनका उम्मेदवार विजय सुवेदीलाई १२ हजार ४ सय ४९ मतान्तरले हराइन् ।

रेनुले ५२ हजार ३० मत पाउँदा सुवेदीले ३९ हजार ५८१ मत मात्रै पाए । गठबन्धनप्रति असन्तुष्टि जनाउँदै बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले १४ हजार ७ सय २८ मत पाए ।

उपमेयरमा निर्वाचित कांग्रेसका चित्रसेन अधिकारीको मतान्तर अझ फराकिलो छ । उनले एमालेको सहयोगमा मैदान उत्रेकी राप्रपाकी हिमला गुरुङलाई २२ हजार १ सय ९१ मतले पाखा लगाए ।

अधिकारी ५२ हजार ८ सय ३ मतसहित विजयी हुँदा गुरुङले ३० हजार ६१२ मत मात्रै पाइन् । चितवनको सत्ता गठबन्धनमा भगवण्डा गर्दा माओवादीले मेयर र कांग्रेसले उपमेयर भाग पाएको थियो ।

प्रतिक्रिया दिनुहोस्